तानसेन—पाल्पाको रामपुर नगरपालिका–४ निवासी असरफ मियाँ र आसिया खातुनका तीन वर्षका छोरा फैजान खान दुर्लभ गौचर रोग (Gaucher Disease) बाट पीडित छन्। हाल उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्लीमा भइरहेको छ।
चिकित्सकहरूले उनको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका छन्, जुन अत्यन्तै जटिल र महँगो प्रक्रिया हो। नेपालमा यस्तो उपचार सुविधा उपलब्ध नभएकाले भारतमा उपचार गर्नुपरेको हो।
चिकित्सकहरूकाअनुसार बोन म्यारो ट्रान्सप्लान्टका लागि बिरामीको ११ वर्षीया दिदीको रगत उपयुक्त देखिएको छ । जसले सफल प्रत्यारोपणको सम्भावना बढाएको छ। असरफ मियाँ हाल कतारमा मजदुरी गरेर परिवार पाल्दै आएका छन्।
करिब पाँच पटक भारतको नयाँ दिल्लीमा परीक्षण गराएपछि चिकित्सकहरूको सल्लाहअनुसार प्रत्यारोपणको तयारी भइरहेको बिरामीका आमा असिया खातुनले जानकारी दिएकी छन्। तर, परिवारको सिमित आम्दानीले उपचार खर्च धान्न असम्भव भएको छ। खातुनकाअनुसार परिवारले सकेसम्म प्रयास गरेपनि आवश्यक रकम जुटाउन नसक्ने अवस्था आएको छ। उपचारका लागि ठूलो रकम आवश्यक रहेको हुँदा सहयोगको लागि अनुरोध गरिन् ।
‘तपाईहरु सबैको सानो सहयोगले फैजानको जीवन बचाउन सकिन्छ। कृपया आर्थिक सहयोग गरेर यो कठिन घडीमा परिवारलाई साथ दिनुहोस्,’ खातुनले भनिन्, ‘तपाईंको सहयोगले मेरो छोरालाई नयाँ जीवन दिनेछ।’
सहयोगका लागि असिया खातुन ९७०२७३९६९८/९१ ८४४८४६७५९३ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।