वीरेन्द्रनगर—सुर्खेतको वीरेन्द्रनगर बजारमा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । बिहीबारबाट वीरेन्द्रनगर नगरपालिका–३ को मुलपानी चोकमा सेवा कर्णाली अस्पताल प्रा.लि. सञ्चालनमा आएको हो ।
निजी क्षेत्रको लगानीमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालन भएको हो । आधुनिक सुविधासहित जटिल रोगका बिरामीबाहेक बढीजसो सुविधा यसै अस्पतालमा उपलब्ध रहेको अस्पतालका प्रबन्ध निर्देशक किशोरकुमार रावलले जानकारी दिए ।
उनले चौबीसै घण्टा सेवा दिइने अस्पतालमा विशेषत्र र एमबीबीएस चिकित्सकसहितको अनुभवी टोलीले स्वास्थ्य परीक्षण गर्ने बताए ।
आधुनिक ल्याब, भिडियो एक्स—रे सेवा, इमर्जेन्सी सेवा, विशेषज्ञ डाक्टरका सेवा, मुटु जाँच, गुणस्तरीय फार्मेसी, डेन्टलसम्बन्धी सेवा प्रदान गरिने निर्देशक रावलले बताए ।
अत्याधुनिक डिजिटल प्रविधिको एक्स—रे सेवासमेत सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
