जुम्ला—जुम्लाका १० देखि १४ वर्ष उमेर समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । यही चैत ९ र १० गते दुई दिनमा एचपीभी खोप लगाइने भएको हो ।
६ कक्षामा अध्ययनरत एक हजार १६५ जना छात्रालाई एचपीभी खोप लगाइनेछ । यस्तै, विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका ११२ जनालाई एचपीभी खोप लगाउन थालिएको हो ।
राष्ट्रिय खोप अभियानका क्रममा छुटेका किशोरीहरूलाई समेट्ने उद्देश्यले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यहाँका ८ स्थानीय तहका ८४ वटा विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ ।
गाउँपालिकागत रूपमा खोप लगाइने किशोरीहरूको संख्या चन्दननाथका २७७ जना, तातोपानीका १६४ जना, गुठीचौरका ७७ जना, पातारासीका २२१ जना, तिलाका १८५ जना, हिमाका २२१ जना, सिजाका १३५ जना र कनकासुन्दरीका १७७ जना किशोरी गरी एक हजार २७७ जना किशोरीलाई खोप लगाइने भएको हो ।
यसका लागि जिल्लास्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । उनले भने, ‘गत वर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई खोप दिइएको थियो । यस वर्ष कक्षा ६ मा पढ्ने किशोरीलाई मात्र खोप दिइनेछ ।’
एचपीभी खोप अभियान नेपाल सरकारको उच्च प्रथामिकतामा रहेको उनको भनाइ छ । बाल मृत्युदर घटाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्न खोप महत्वपूर्ण मानिन्छ । खोप अभियानबाट कोही नछुट्ने र नदोहोरिने गरी अभियान प्रभावकारी रुपमा सञ्चालन गरिने तयारी छ । लक्ष्यअनुसारका सबै किशाोरीलाई खोपको पहुँचमा ल्याउने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । नेपालमा वि.सं. २०३४ सालदेखि खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।