जुम्ला—कनकासुन्दरी गाउँपालिका–४ स्थित हाँटसिजा स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल, क्याड नेपाल जुम्ला र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा कनकासुन्दरीका स्थानीयले विभिन्न रोगको परीक्षण तथा उपचार गरेका छन् । शिविरमा नाक, कान तथा घाँटी, दाँत, स्त्रीरोग सम्बन्धी समस्या, सेतोपानी बग्ने, गनाउने तथा चिलाउनेजस्ता समस्या, गर्भवती जाँच, पाठेघरको मुखको जाँच तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको हो ।
स्वास्थ्य शिविरबाट कुल ६२५ जना नागरिक लाभान्वित भएका छन् । जसमा महिला ४ सय र पुरुष २२५ जना लाभान्वित भएका छन् ।
दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पाउन कठिन हुने अवस्थामा सञ्चालन गरिएको यस्तो शिविरबाट स्थानीयवासीलाई राहत मिलेको छ । सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आर्थिक अभावले आउजाउ गर्न समेत कठिन भइरहेका विपन्न नागरिकलाई विशेष राहत मिलेको छ ।
पाठेघर सम्वन्धी समस्या भएका ३ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक विरेन्द्र उपाध्यायले बताए ।
यस्तै शिविरमा गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आर्चायले नागरिकहरुको राहतका लागि आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिने बताए ।
पालिकाले साझेदार संस्थाहरुसंगको समन्वय, सहयोग एवं सहकार्यमा निःशुल्क स्वास्थ्य शिबिरहरु सञ्चालन गर्ने योजना लिएको अध्यक्ष आचार्यको भनाइ छ ।