काठमाडौं-औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको छ । बिहीबार औषधि व्यवस्था विभागमा आयोजित एक कार्यक्रममाझ विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणाली आवद्ध भएको औपचारिक जानकारी दिइएको हो ।
भन्सार विभागमा महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई उपस्थित कार्यक्रममाझ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको घोषणा गरिएको हो । विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएसँगै औषधि सम्बन्धी भन्सार जाँचपास तथा सम्बन्धित निवेदनहरू यसै एकद्वार प्रणालीमार्फत आवेदन गर्नुपर्नेछ ।
‘औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएसँगै सेवाग्राहीले अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धि सेवाहरु छिटो र पारदर्शी रुपमा पाउनेछन्,’ औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भने, ‘एकद्वार प्रणालीमा आवद्ध हुने प्रक्रिया यसअघि मैले नै अगाडि बढाएको थिए । अहिले म तेस्रो पटक विभागको महानिर्देशक भएर आउँदा यो कार्यान्वयनमा गएको छ ।’ उनले विभागमा जनशक्ति कम भएकाले पनि छिटो-छरितो काम आवश्यक रहेको उल्लेख गर्दै यो प्रणालीले त्यसमा सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपाल राष्ट्रिय एकद्वार प्रणाली औषधि व्यवस्था विभागको आवद्धता सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिनका लागि मात्रै उपयोगी नभई अन्तर्राष्ट्रिय बजारमा पनि देखाउन लायक प्रडक्ट रहेको महानिर्देशक भट्टराईको भनाइ थियो ।

भन्सार विभागले भन्सारको जाँच पासका क्रममा आवश्यक पर्ने सबै कागजात (लाइसेन्स, परमिट, सर्टिफिकेटलगायत) एउटै सिंगो विण्डो पोर्टलबाट जारी हुने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली ल्याइएको भन्सार विभागका निर्देशक रहिम अन्सारीले जानकारी दिए । ‘ट्रेड फ्यासिलिटीमा डुइङ कष्ट कम गर्नका लागि औषधि व्यवस्था विभागबाट जारी हुने छुटका कागजात, परमिट, उधोगलाई दिने सर्टिफिकेट, आयात निर्यातका लागि दिनुपर्ने अनुमति पत्र सबै सेवाग्राहीले अनलाइन रुपमा यही प्रणालीमार्फत निवेदन दिनुपर्नेछ,’ उनले भने, ‘र, औषधि व्यवस्था विभागका सबै कर्मचारीहरु यही प्रणालीमा आवद्ध भई प्रणालीमार्फत रिभ्यू, भेरिफाइ, रुजु र एप्रुभ गर्नुपर्नेछ । एप्रुभ भइसकेपछि यो प्रणालीबाट जारी हुने डकुमेन्ट स्वतः रुपमा भन्सार जाँच प्रणालीमा जान्छ । सोही डकुमेन्टको आधारमा भन्सारमा निकासी र पैठारी सम्बन्धि कार्यहरु हुन्छन् ।’
यसअघि औषधि व्यवस्था विभागबाट जारी हुने कागजातहरु भन्सार विभागसँग एकीकृत भएको थिएन । ‘सिंगल विण्डोबाट औषधि व्यवस्था विभागमा जोडिएको छ,’ उनले थपे, ‘अब औषधि व्यवस्था विभागले जारी गरेका सबै डकुमेन्टहरु प्रणालीमार्फत प्राप्त हुनेछन् र यो प्रणाली मुख्य भन्सार प्रणालीसँग एकीकृत भएकाले सबै डकुमेन्ट जाँचपास प्रणालीसँग आवद्ध हुने भए ।’
अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्राष्ट्रिय व्यापारलाई सहज, छिटो र पारदर्शी बनाउन सञ्चालन ल्याएको एकीकृत अनलाइन डिजिटल प्रणाली हो । यसको आधिकारिक पोर्टल नेपाल राष्ट्रिय एकल द्वारमार्फत अनलाइन अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्र र अन्य कागजातहरू पेश गर्ने, ट्र्याक गर्ने र प्रमाणित गर्ने सुविधा छन् । यस्तै, आयात(निर्यात (एक्जीम) कोडको नयाँ आवेदन, नवीकरण, दर्ता रद्द र पुनः दर्ता गर्ने सेवा, पर्यटक, चालक तथा अधिकारीहरूका लागि सवारी साधनको अस्थायी आयातसम्बन्धी कार्य, खाता व्यवस्थापन, कर गणना, निरीक्षण र विभिन्न किसिमका व्यापारसम्बन्धी रिपोर्टहरू प्राप्त गर्ने सुविधा प्रणालीमा छन् ।
देशका ४८ वटा निकायहरुलाई यो प्रणालीसँग आवद्ध गर्ने योजना सरकारको छ । अहिलेसम्म लाइसेन्स जारी गर्ने २५ वटा निकायहरुमध्ये १६ वटा निकाय यो प्रणालीसँग आवद्ध भइसकेका छन् ।