विराटनगर— विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजना भएको नेपाल शल्यचिकित्सक समाज (एसएसएन)को १५ औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’ सम्पन्न भएको छ । ‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धिः नवप्रवर्तन, प्रविधि र सहकार्य’ नाराका साथ सम्मेलन १० देखि १२ मंसिरसम्म चलेको थियो ।
उक्त सम्मेलन नेपाल शल्यचिकित्सक समाज कोशी प्रदेश शाखाको आयोजना तथा केन्द्रीय समाज काठमाडौँको सहकार्यमा सम्पन्न भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको विशिष्ट आतिथ्यतामा सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको थियो । समारोहको मञ्चमा एसएसएनका अध्यक्ष प्रा. डा. रोविन जोशी, निवर्तमान अध्यक्ष तथा वैज्ञानिक समितिका अध्यक्ष डा. रोमियो कंसाकार, महासचिव डा. सुमिता प्रधान, आयोजक अध्यक्ष प्रा.डा. रोहितप्रसाद यादव र आयोजक सचिव प्रा.डा. राकेशकुमार गुप्ताले आसन ग्रहण गरेका थिए । सो अवसरमा मुख्यमन्त्री कार्की र डा. अर्बिन जोशीले सम्मेलनको स्मारिका तथा जर्नलको विमोचन गरेका थिए ।
समारोहमा नेपालका वरिष्ठ शल्यचिकित्सकद्वय डा. सुनिलचन्द्र अधिकारी र प्रा. डा. निलाधर हाडकेलाई सम्मान गरिएको थियो भने विशेष अतिथिका रूपमा प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई समेत सम्मान प्रदान गरियो । विभिन्न विधाका पुरस्कार तथा प्रतियोगिताका विजेताहरू सम्मेलनको उद्घाटन समारोहमा उत्कृष्ट पोस्टर पुरस्कार डा. अश्विन लम्साल, उत्कृष्ट रेजिडेन्ट पुरस्कार डा. हरिहर देवकोटा र उत्कृष्ट युवा शल्यचिकित्सक पुरस्कार डा. शिशिर देवकोटालाई प्रदान गरियो ।
सम्मेलनमा पहिलोपटक आयोजना गरिएको एमआईएस (मिनिमल्ली इनभेजीभ सर्जरी) च्याम्पियनसिपअन्तर्गत ल्याप्रोस्कोपिक सुचरिङ प्रतियोगितामा ९ वटा कलेज र हस्पिटलले सहभागिता जनाएका थिए । प्रतियोगितामा विराट मेडिकल कलेजका डा. तिलक डाँगी, डा. अविरल कटुवाल र डा. सुवास थापाको टोली प्रथम भए । बीएन्डबी हस्पिटलका डा. सौजन्य जंग पाण्डे, डा. मनिष महासेठ र डा. नितेश महर्जनको टोली द्वितीय भए ।
त्यसैगरी रेसिडेन्ट्स वेस्ट पेपर अवार्डतर्फ काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटलका डा. सरोज कुमार भगत प्रथम भए । यस्तै, चितवन मेडिकल कलेजका डा. राजेन्द्र ढकालले द्वितीय र पोखरा एकेडेमी अफ हेल्थ साइन्सेसका डा. रणवीर यादवले तृतीय स्थान हासिल गरे ।
पोस्टर प्रेजेन्टेसनतर्फ महाराजगञ्ज मेडिकल क्याम्पस (टीयूटीएच, आईओएम)का डा. मिलन अधिकारी प्रथम, चितवन मेडिकल कलेजका डा. विवेककुमार दास द्वितीय र युनिभर्सल कलेज अफ मेडिकल साइन्सका डा. विशाल कुँवर तृतीय भए ।

युवा सर्जन्स अवार्डतर्फ वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलका डा. महेशमणि अधिकारीले प्रथम, चितवन मेडिकल कलेज टिचिङ हस्पिटल (सीएमसीटीएच)का डा. वसन्तकुमार यादवले द्वितीय र धुलिखेल हस्पिटलका डा. अरुण ज्ञवालीले तृतीय स्थान प्राप्त गरे ।
तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिन १० मंसिरमा पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया र मलद्वार सम्बन्धी रोगको उपचार बारे व्यावहारिक तालिम दिइनुका साथै पेटको क्यान्सर र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञहरूसँग अन्तरक्रिया गरिएको थियो ।
त्यसैगरी, ११ र १२ मंसिरमा सञ्चालन भएको मुख्य वैज्ञानिक कार्यक्रममा अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्रहरू समावेश थिए । जसमा हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरी सम्बन्धी विषयमा छुट्टाछुट्टै सत्रहरू चलाइएका थिए । साथै, रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई)को प्रयोगजस्ता नवीनतम विषयमा समेत गहन छलफल भएको थियो । अनुभवी तथा युवा शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभव आदान—प्रदान गर्नुका साथै आपसी सहकार्य अभिवृद्धि गर्ने र नेपालमा शल्यचिकित्सा सेवाका चुनौती तथा सम्भावनाबारे गहन छलफल गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसिया लगायतका देशका ५०० जनाभन्दा बढी शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।