२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा १ हजार ३ सय ३१ जनाको नमुना संकलन

गण्डकी प्रदेशमा १ हजार ३ सय ३१ जनाको नमुना संकलन


पोखरा–गण्डकी प्रदेशमा कुल पिसिआर परीक्षणको लागि हालसम्म १ हजार ३ सय ३१ जनाको नमुना संकलन गरिएको छ । ती मध्ये १ हजार ८१ जनाको परीक्षण नतिजा नेगेटिभ रहेको छ भने २ सय ४७ जनाको परीक्षण नतिजा आउन बाँकी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जनाए । मंगलबारसम्म गण्डकी प्रदेशमा ६ हजार ९ सय ९८ जनामा आरडीटी परीक्षण गरिएको उनले बताए ।

मंगलबार पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका मन्त्रीहरु, मन्त्रालयका सचिव, कर्मचारीसहित पिएसओ, सुरक्षाकर्मी गरी १ सय ४६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । वुधबार प्रदेश सभाका सभामुख र अन्य सदस्यहरुको स्वाब संकलन गरिने कार्यक्रम तय गरिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेश सरकारको प्रदेशका सबै जिल्लामा आईसीयु स्थापना गर्ने निर्णयसँगै उक्त सेवा प्रभावकारी रुपमा संचालन गर्नको लागि जटिल अवस्थाका बिरामीको हेरचाह गर्ने स्वास्थ्यकर्मीलाई प्रशिक्षण प्रदान गर्न मणिपाल शिक्षण अस्पताललाई अनुरोध गरिएको स्वास्थ्य निर्देशक डा. शर्माले जनाए ।

नेपाली सेनाले लमजुङमा सामुदायिक अस्पतालमा कोरोनाभाइरस संक्रमण बढेपछि गरिने विभिन्न क्रियाकलाप सम्बन्धि डेमो प्रदर्शन गरेको छ । उक्त प्रदर्शन उदीपुर श्रीजंग गणका सुरक्षाकर्मी कोरोना संक्रमितको शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गरेका थिए ।
यस्तै, पीपीईको प्रयोगको तरिका, संक्रमितलाई अस्पताल लैजाने तरिका, संक्रमितको मृत्यु भएपछि अस्पतालबाट अन्तिम संस्कारस्थलसम्म लैजानका लागि अपनाउनुपर्ने विधिलगायतका बारेमा डेमो प्रदर्शन गरिएको थियो ।

मंगलबार सामाजिक विकास मन्त्री नरदेवी पुन, स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोद विन्दु शर्मा, महाशाखा प्रमुखलगायतका सरोकारवालाहरु सम्मिलित बैठकमा पिसिआर परीक्षण केस व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा संक्रमण भेटिएका बाग्लुङका २ जना उपचार पश्चात घर फर्किसकेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ