२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य प्रतिष्ठानमा बहिरंग सेवा बन्द, करिब ६ सय बेडमा कोभिड बिरामीको उपचार गर्ने लक्ष्य

पोखरा स्वास्थ्य प्रतिष्ठानमा बहिरंग सेवा बन्द, करिब ६ सय बेडमा कोभिड बिरामीको उपचार गर्ने लक्ष्य


पोखरा–प्रदेशकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बहिरंग सेवा बन्द गरिएको छ । इमर्जेन्सी, मातृशिशु र मिर्गौला डायलाइसिस सेवा भने सुचारु रहनेछन् ।

कोभिड–१९ का बिरामी बढ्दै जाँदा बिरामीलाई बेड अभाव नहोस् भनेर यसो गरिएको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले जानकारी दिए । यसका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मंगलबारदेखि ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

पोखरा स्वास्थ्य प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार सचिवस्तरको ९ जेठको निर्णयअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतललाई कोभिड–१९ संक्रमितको उपचारको व्यवस्थापनका लागि व्यवस्था मिलाउने निर्णयअनुसार कोभिड–१९ का ओपिडी बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएकोे उल्लेख छ ।

पूरै अस्पताललाई कोभिड अस्पताल बनाएपश्चात् करिब ६ सय बेडमा कोरोना संक्रमितको उपचार गर्न सकिने अस्पतालका सूचना अधिकारी आचार्यले बताए । बिरामी बढ्दै जाँदा बेड थप्दै जाने लक्ष्यअनुसार काम गरिएको उनले जानकारी दिए ।

‘८० बेडमा कोरोना बिरामीको उपचार भइरहेको छ । पूरानो भवनको ३८० बेड क्षमता हो,’ उनले भने, ‘नयाँ भवनमा २ सय बेड सञ्चालनमा आएपछि करिब ६ सय बेडको सेवा दिन सकिन्छ ।’ अहिले पनि बेड नै नपाउने समस्या भने नरहेको उनले बताए ।

नयाँ भवनमा अक्सिजन प्लान्टबाट अक्सिजन सप्लाई गर्ने गरी काम भइरहेको तर तत्काललाई अक्सिजन सिलिन्डरमार्फत नै सेवा दिइने उनको भनाइ थियो ।

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले गत ५ वैशाखमा प्रतिष्ठानलाई कोभिड–१९ संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ