२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबारपाकमा विपत्ति, गाउँका १२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि

बारपाकमा विपत्ति, गाउँका १२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि

स्वास्थ्यकर्मीको टोली गाउँ पुग्यो, परीक्षण र उपचार गर्दै


पोखरा–बारपाक गुजुमुज्ज परेको गाउँ । वैशाख दोस्रो सातातिर गाउँमा प्रशस्त विहे लगायत उत्सव भए । उत्सवमा काठमाडौं, पोखरालगायत सहरबाट मानिस भित्रिए । उत्सवमा २ दिनसम्म नाच्ने, भोज खाने र रमाइलो गर्ने भयो । त्यसपछि केही दिनमा गाउँका मानिसमा कोभिड–१९ का लक्षणसँग मेल खाने बिरामी देखिन थाले । कोभिड–१९ परीक्षणमा स्थानीयले चासो दिएनन् । उनीहरु कोभिड–१९ संक्रमण हो कि भनेर खुल्नसम्म सकेका छैनन् ।

कोही मानिस त सिकिस्त पनि भए । बारपाक गाउँमा एक पटक २५ जनाको पिसिआर जाँच गरियो तर रिपोर्ट आउनै १३ दिन लाग्यो । त्यसअवधिमा एक युवती उपचारका लागि नजिकको मेडिकलमा गएकोमा मृत्यु भयो । उनको कोभिड–१९ परीक्षण नै गरिएन तर ढिलो आएको पिसिआर रिपोर्टले कोभिड–१९ संक्रमण पुष्टि भयो ।

बारपाक गाउँमा अहिले १२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । उनकाअनुसार ६३ जनाका पहिले नै परीक्षण भएको हो भने ५८ जनाको शुक्रबार गरिएको एन्टिजेन परीक्षणबाट कोभिड–१९ पुष्टि भएको हो । अहिलेसम्म गाउँमा संक्रमण पुष्टि भएका ३ जनाको ज्यान गइसकेको छ । गाउँमा मृतक बढ्दै जाँदा त्रास र शोकले गाउँ भरिएको छ ।

प्रदेशको भौतिक तथा पूर्वाधारमन्त्री रामशरण बस्नेत, प्रदेश स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्मा र सांसदहरुसहित स्वास्थ्यकर्मीको टोली शुक्रबार बारपाक पुगेपछि स्थानीयको स्वास्थ्य परीक्षण थालिएको छ । बिरामीको गम्भीरतालाई मध्यनजर गरी गोरखा सरदमुकाम र पोखरासम्म पनि लैजाने व्यवस्था प्रदेश सरकारले मिलाउने बताइएको छ ।

पोखराबाट टोली पुगेपछि शुक्रबार ७२२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

‘कोरोनाको शंका छ, भयावह अवस्था छ । धरैैजसो बिरामी छन् । परीक्षण सकिँदासम्म कतिमा संक्रमण पुष्टि हुन्छ भन्न सकिदैन,’ बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष भट्टले भने । घटना बसोबास हुँदा पनि संक्रमण तीव्र भएको उनको अनुमान छ ।

‘गाउँमा कोभिड–१९ फैलिएपछि पालिकाको सबै काम ठप्प छन् । स्वास्थ्य चौकीका २ वटा अक्सिजन कन्सन्ट्रेटर र ५ वडा अक्सिजन सिलिन्डरसहित गरी ७ आइसोलेसनको व्यवस्था गरेका छौं । स्वास्थ्य चौकीमा औषधीको उपलब्धता राम्रै छ,’ अध्यक्ष भट्टले भने । जटिल खालका बिरामी चितवन र पोखरा पठाउन एउटा एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताए । उनका अनुसार संक्रमितको एम्बुलेन्स खर्च गाउँपालिकाले तिरिदिनेछ ।

गण्डकी स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माले बारपाकमा २ जना विशेषज्ञ डाक्टर, २ जना मेडिकल अधिकृत, ३ जना नर्सिङ स्टाफ, १ जना मनोसामाजिक परामर्शदाता, १ जना जनस्वास्थ्य अधिकृत, ३ जना ल्याब टेक्निसियनलगायतको टोलीले काम गरिरहेको जानकारी दिए ।
उनले भने, ‘मान्छेहरु डराइरहेका अवस्था थियो । माइकिङ गरी काउन्सिलिङ ग¥यौं । हामी आएका छौं, नआत्तिनोस् भन्ने सान्त्वना दिएर परीक्षण सुरु ग¥यौं । ३ ठाउँमा केन्द्र राखेर परीक्षण गरिएको छ ।’ शुक्रबार गरिएको परीक्षणमा १८ पुरुष र ४० महिलामा संक्रमण पुष्टि भएको छ ।

बारपाकमा पछिल्लो १ हप्तामा १२/१३ जनाको मृत्यु भएको छ । तर, त्यसमा कम उमेरको नरहेको निर्देशक डा. शर्माले बताए । उनले माङ्खे र पोखरी भन्ने ठाउँमा पनि संक्रमण तीव्र भएको सुनिएको बताए । ‘त्यहाँ बारपाकपछि जाँच गरिनेछ,’ उनले भने ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ