२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशभीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट स्थापना

भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट स्थापना


पोखरा–स्याङ्जाको भीरकोट नगर अस्पतालमा अक्सिजन अभाव न्यूनीकरणका लागि मिनी अक्सिजन प्लान्ट स्थापना गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको उक्त प्लान्ट भीरकोट नगर अस्पताललाई सोमबार हस्तान्तरण गरिएको भीरकोट नगरपालिकाका प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।

नगरपालिका र आविष्कार केन्द्रको संयुक्त लागतमा प्लान्ट निर्माण गरिएको अधिकृत भुसालले बताए । उनका अनुसार नगरपालिका र आविष्कार केन्द्रको तर्फबाट ५०÷५० प्रतिशत व्यहोर्ने सहमति भएको छ । तत्कालीन सामुदायिक अस्पताललाई नगरपालिकाले करिब १ महिना अघिमात्रै आफू मातहत ल्याएर काम सुरु गरेको अधिकृत भुसालले प्रष्ट्याए ।

प्लान्टका लागि कुल १९ लाख ४० हजार लागत स्टिमेट गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब नारायणबन्धु अर्यालले जानकारी दिए । प्लान्टको प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको आविष्कार केन्द्रका इन्जिनियरले बताएको उनको भनाइ थियो ।

प्लान्टमा ७ वटा अक्सिजन कन्सन्टेटर प्रयोग गरिएको छ । उनले भने, ‘६ वटा १० लिटर क्षमताका र एउटा ५ लिटर क्षमताको कन्सन्टेटर प्रयोग गरी २ वटा ट्यांकमा अक्सिजन जम्मा गर्ने व्यवस्था गरिएको छ ।’

ट्यांकबाट १२ वटा बेडमा प्रति मिनेट ५ लिटरसम्म अक्सिजन आपूर्ति हुन्छ । आवश्यकताअनुसार अक्सिजनको प्रेसर थपघट पनि गर्न सकिन्छ ।

मिनी प्लान्ट नेपालमै पहिलोपटक उत्पादन भएको आविष्कार केन्द्रले जनाएको छ । विद्युत अवरुद्ध हुँदा अक्सिजन उत्पादन हुँदैन, त्यतिबेलाका लागि २ वटा अक्सिजन सिलिन्डर जगेडामा राखिएको छ ।

प्रदेश सरकारबाट प्राप्त बजेटमा अक्सिजन व्यवस्थापन गर्न टेन्डर गरी काम भइरहेको छ । २४ वटा अक्सिजन सिलिन्डर राखी बेडमा अक्सिजन पु¥याउन कपर वायरिङको काम भइरहेको स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए । केही दिनमा वायरिङको काम पूरा हुने उनको भनाइ थियो ।

आविष्कार केन्द्रले २/३ दिनमै स्थापना गर्न सक्ने बताएपछि प्रदेशतर्फको कपर वायरिङको काम भइरहेको अवस्थामा पनि मिनी अक्सिजन प्लान्ट स्थापना गरिएको उनले स्पष्ट पारे ।

शाखा प्रमुख अर्यालका अनुसार आविष्कार केन्द्रबाट आएका मेकानिकल इन्जिनियरले अस्पतालका स्टाफलाई सञ्चालनसम्बन्धी सम्पूर्ण विधि सिकाएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ