२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअन्नपूर्ण गाउँपालिकाको नीती तथा कार्यक्रममा कोभिड खोपलाई प्राथमिकता

अन्नपूर्ण गाउँपालिकाको नीती तथा कार्यक्रममा कोभिड खोपलाई प्राथमिकता


पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा संघीय सरकारको सहकार्य र अनुमतिमा गाउँपालिकाबासीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइने भएको छ ।

 

गाउँपालिकाले खोप खरिद अनुमति पाए रकम अभावका कारण खोप नपाउने अवस्था आउन नदिने जनाएको छ । ‘म र मेरो स्वास्थ्य र मेरो जिम्मेवारी’ नारालाई स्वास्थ्यको मूल नाराको रुपमा अंगीकार गरी गाउँपालिकाका सबै वडामा स्वास्थ्य बिमा गर्न जनतालाई प्रोत्साहन गर्ने नीति लिइएको छ ।

विपन्न नागरिकलाई स्थानीय तहले बिमा प्रिमियम रकम व्यहोर्ने गरी प्रक्रिया अगाडि बढाउने भएको छ । स्वास्थय बिमामार्फत प्रदान गरिने सेवाको पहुँचलाई बिस्तार गरी विपन्न नागरिक कोषलाई स्वास्थ्य बिमाअन्तर्गत एकीकृत गरी छुट्टै स्वास्थ्य बिमा कोष खडा गरिने भएको छ ।

बर्थिङ सेन्टर तथा दक्ष प्रसूतिकर्मीको पर्याप्त व्यवस्था गरी संस्थागत सुत्केरीलाई प्रोत्साहन र घरमै हुने प्रसूति निरुत्साहित गरी शून्यमा झारिने लक्ष्य लिइएको छ । यस आवबाट टाइफाइड खोपको सुरुवात गरिने बताइएको छ । नागडाँडा स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल निर्माण सुरुवात भएकाले आगामी आवबाट पालिकाबासीलाई सरल र सहज सेवा उपलब्ध गराइने लक्ष्य लिइएको छ ।

परिवार स्वास्थ्य लगायत यौन तथा प्रजनन स्वास्थ्यलाई एकीकृत सेवाको रुपमा कार्यान्वयन गरिनुका साथै युवा तथा किशोर-किशोरीमैत्री स्वास्थ्य सेवाको अवधारणालाई पूर्णता दिन विद्यालय नर्स कार्यक्रम थालनी गर्ने लक्ष्य लिइएको छ ।

गाउँपालिकाले विपद् तथा दुर्घटनाबाट हुने चोटपटकका कारण अपांगता र मृत्यु घटनालाई सम्बोधन गर्न रोकथाम, शीघ्र उपचार र दोहोरो प्रेषण प्रणालीलाई प्रभावकारी बनाइने साथै गाउँपालिकामा एम्बुलेन्स सेवा बिस्तार गरिने बताइएको छ।

गाउँपालिका क्षेत्रका सम्भाव्य जडिबुटीहरुको अध्ययन अनुसन्धान गरी स्थानीय जडिबुटीको पहिचान र सदुपयोग गरी आयुुर्वेदिक उपचार पद्धति, ध्यान शिक्षा तथा योग अभ्यासलाई प्रत्येक वडामा बिस्तार गर्ने उल्लेख छ ।

आयुर्वेदिक सेवा जनताको पहुँच स्थापित गर्नका लागि गण्डकी आयुर्वेद औषधालयको समन्वय र सहयोगमा गाउँपालिकाको वडा नम्बर १ मा स्थापित नागरिक आरोगय सेवा केन्द्रलाई थप सशक्त र प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ