२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअस्पतालमा सिटीस्क्यान सेवा ल्याउन अर्थ र स्वास्थ्य मन्त्रालयको निर्णय कुर्दै प्रतिष्ठान

अस्पतालमा सिटीस्क्यान सेवा ल्याउन अर्थ र स्वास्थ्य मन्त्रालयको निर्णय कुर्दै प्रतिष्ठान


पोखरा – पोखरा २७ का रविन्द्र अधिकारीलाई २६ असारका बेलुका ९ बजे हल्का बोमिटिङ सुरु भयो । सामान्य ग्यास्ट्रिक होला भन्ने परिवारका सदस्यले सोचे । करिब ११ बजे राति उनले भन्न थाले,‘ मेरो त टाउको साह्रै दुख्न थाल्यो ।’ राति तत्कालै नजिकका आफन्तसहित अस्पताल जाने तयारीमा रहेका उनी सिँढी झर्दै गर्दा बेहोस भए ।

उनलाई पोखराकै ठूलो संघ मातहतको सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगियो । इमर्जेन्सीमा पुगेका उनको त्यहाँ उपचारमा कठिनाइ हुने डाक्टरले बताए । कारण थियो, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सिटीस्क्यान सेवा नहुनु ।

त्यहाँबाट बिरामीलाई मणिपाल शिक्षण अस्पताल लानु उपयुक्त हुने निष्कर्षमा पुगियो । मणिपालमा क्षेत्रीय अस्पतालको ठिक उल्टो अवस्था आयो । मणिपालमा सिटीस्क्यान सेवा त थियो तर आइसियु र भेन्टिलेटर खाली थिएन । बिरामीलाई गण्डकी मेडिकल कलेज लगियो र आइसियुमा भर्ना गरियो ।

यो त प्रतिनिधि घटना मात्रै हो । सेवा नभएपछि यस्तै जटिल खालका र सामान्य खालका बिरामी जो टाउकाको सिटीस्क्यान गर्नुपर्ने हुन्छन् तिनीहरुले क्षेत्रीय अस्पतालमा सेवा पाउन सक्दैनन् । भर्ना गरिएका सामान्य खालका बिरामीहरु पनि सिटीस्क्यान गर्न निजीलाई नै गुहार्नुपर्ने अवस्था छ । अस्पतालमा सिटीस्क्यान मेसिन नहुँदा सेवाग्राही निजी अस्पताल र ल्याबमा महँगो शुल्क तिर्न बाध्य छन् भने सेवा लिन भौतारिनुपर्ने बाध्यता छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान त बनाइयो तर सेवा सुविधामा भने हुनुपर्ने उल्लेखनीय सुधार हुन सकेन । अहिले पनि अस्पतालमा बिग्रिएको सिटीस्क्यान मेसिन छ । न त यो मर्मत हुन्छ, न त अस्पतालमा नयाँ मेसिन नै आउँछ ।

अस्पतालमा हाल काम नलाग्ने अवस्थामा रहेको सिटीस्क्यान मेसिन ल्याएको करिब १५ वर्ष भइसक्यो । बिग्रिएको मेसिन मर्मत गराएर बीचको अवधिमा केही समय चलाइएको थियो तर फेरि बिग्रियो । फेरि बिग्रिएर थन्किएको पनि ४/५ वर्ष भइसक्यो । अस्पतालमा सिटीस्यान मेसिन बिग्रिएको अवस्था भएकाले सेवा दिन नसकिएको तर सिटी स्क्यान मेसिन सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति भने रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.डुकबहादुर (डिबी) क्षेत्री बताउँछन् ।

उनले भने, ‘हामीले अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेका छौं, सिटीस्क्यान मेसिन खरिदका लागि टेन्डर गरी सम्झौतासमेत भइसकेको छ ।’ उनका अनुसार आर्थिक वर्षको अन्त्यतिर टेन्डर र सम्झौता भएकाले नयाँ मेसिन कहिलेसम्म आइपुग्छ भन्ने यकीन छैन ।

अस्पतालका निर्देशक डा. भरतबहादुर खत्री नयाँ सिटीस्क्यान मेसिन ल्याउन आफूले पहल गरेको बताउँछन् । उनले भने,‘सिटीस्क्यानका लागि सबै कागजी तयारी भइसकेको छ, कन्ट्रयाक्ट पनि भयो, अब एलसी खोल्न पैसा चाहियो भनेर स्वास्थ्य मन्त्रालयमा परिपत्र गरिएको छ,’ उनले थपे ,‘ स्वास्थ्यबाट अर्थ मन्त्रालयसम्म पुगेको छ ।’

‘मैले आजमात्रै पनि डा. लोहनीलाई फोन गरेर सर, आज र भोलिसम्म पैसा आएन भने त एलसी खोल्न सकिंदैन, भनेको छु । आज र भोलिमा अर्थले पैसा पठाइदियो भने त एलसी खोलियो नत्र के हुन्छ, मलाई नै थाहा छैन,’निर्देशक खत्री भन्छन्, ‘मेरोतर्फबाट गर्नुपर्ने काम सकें, अब स्वास्थ्य र अर्थ मन्त्रालयले गर्नुपर्ने काम बाँकी छ, अब त स्वास्थ्य र अर्थकै पोल्टामा छ ।’

अस्पतालमा भएको सेवा पनि निजी ल्याब र अस्पतालमा लिनुपर्ने बाध्यता कायमै छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जाँच गरेका कतिपय बिरामीका लागि डाक्टरले निजी ल्याब नै तोकेर प्रयोगशाला परीक्षणका लागि पठाउने गरिएको गुनासो आउने गरेको छ । यसमा निजी ल्याब र क्षेत्रीय अस्पतालका डाक्टरबीच मिलेमतो भएको देखिन्छ । अस्पतालको प्रयोगशालामा रगतसम्बन्धी झन्डै ९० प्रतिशत जाँच हुने भएकाले अस्पतालकै ल्याबमा जाँच गराउन र नहुने केहीमात्रै भएकाले बदमासी भए तत्काल जानकारी दिन निर्देशक डा. खत्रीले आग्रह गरेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, #पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, #सिटीस्क्यान सेवा नहुनु


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ