२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा पूर्व सूचनाबिनै खोप कार्यक्रम स्थगन

पोखरामा पूर्व सूचनाबिनै खोप कार्यक्रम स्थगन


पोखरा—पोखरामा खोपका नाममा सास्ती भएको छ । सर्वसाधारण खोप लगाउन लाइनमा बसिसकेपछि पूर्व सूचनाबिनै खोप कार्यक्रम स्थगित हुँदा लाइनमा बसेका सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । शनिबार खोप कार्यक्रम स्थगित भएपनि आइतबार भने खोप कार्यक्रम सञ्चालन हुने सूचना दिएको महानगरले आइतबार पनि संघीय सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन भन्दै खोप तालिका स्थगित गरेको हो ।

पोखरामा आइतबार यातायात व्यवसायीका लागि छुट्टै केन्द्र तोकिएको थियो । बेगनास ताल पोखरा यातायात प्रालिका व्यवसायी कर्मचारीका लागि संक्रामक तथा सरुवा रोग अस्पताल मोहरियामा १० बजेदेखि ३ बजेसम्म तोकिएको थियो ।

त्यस्तै, अमरसिंह मावि अमरसिंह, पोखरामा बस व्यवसायी समितिका लागि साढे ११ देखि ४ बजेसम्म तोकिएको थियो ।
जिल्ला समन्वय समिति कास्की संयोजक बैनबहादुर क्षेत्रीले फेसबुकमार्फत माथिको आदेश पालना गर्न बाध्य भएको बताएका छन् । उनले लेखेका छन्, ‘खोपको लागि लाइनमा बसेका जनताले दुःख पाउनु भो । माथिको आदेशअनुसार आजको खोप कार्यक्रम रोकिएको छ, एक दुई दिनमा अर्काे व्यवस्था गरिनेछ । आदेश पालना गर्न हामी बाध्य छौं ।’

पोखराका मेयर मानबहादुर जिसीका प्रेस सल्लाहकार माधव बरालले संघीय सरकार स्वास्थ्य मन्त्रालयको निर्देशनमा आइतबारको खोप कार्यक्रम स्थगित भएको जानकारी दिएका छन् । उनले २ साउनको स्थगित खोप तालिका ८ साउनपछि मात्रै हुनेसमेत जनाएका छन् ।

खोप केन्द्रको लाइनमा बसेका सर्वसाधारण खोप दिन्छौं भनेर आश्वासन नदिएको भए बरु घरमै सुरक्षित त हुन्थ्यौं भनेर आक्रोश पोखेका छन् ।

यसअघि शनिबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षता र मन्त्रालयका सचिवको उपस्थितीमा बसेको कोभिड खोप व्यवस्थासम्बन्धी बैठकको निर्णय भन्दै खोप स्थगन भएको र पूर्व निर्धारित ३ साउनका सेसन भने यथावत् सञ्चालन हुने पोखरा महानगर पालिकाले जनाएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ