२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा १६१ सरकारी र १९१ निजी प्रयोगशाला, पिसिआर जाँच गर्न ५ प्रयोगशालालाई अनुमति

गण्डकीमा १६१ सरकारी र १९१ निजी प्रयोगशाला, पिसिआर जाँच गर्न ५ प्रयोगशालालाई अनुमति


पोखरा—गण्डकी प्रदेश स्वास्थ्य प्रयोगशालाले प्रदेशभरिका प्रयोगशालाको विवरण सार्वजनिक गरेको छ । प्रदेशस्तरीय स्वास्थ्य प्रयोगशालासम्बन्धी प्रोफाइल प्रकाशन गरी प्रयोगशाला विवरण सार्वजनिक गरेको हो ।

प्रदेश प्रयोगशालाकाअनुसार १६१ सरकारी र १९१ वटा निजी प्रयोशाला सञ्चालनमा रहेका छन् । प्रदेश प्रयोगशालाले प्रदेशभरिमा ५ प्रकारका संरचनामा आधारित भएर प्रयोगशाला सञ्चालन भएको जनाएको छ ।

जसअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास रोग केन्द्र प्रयोगशाला संघीय कार्यालय तथा प्रतिष्ठानअन्तर्गत सञ्चालित छन् ।

यस्तै, मणिपाल शिक्षण अस्पताल प्रयोगशाला र गण्डकी मेडिकल कलेज प्रयोगशाला मेडिकल कलेजअन्तर्गत सञ्चालित छन् । प्रादेशिक कार्यालयअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला संक्रामक तथा सरुवा रोग अस्पताल प्रयोगशाला, प्रदेश क्षयरोग उपचार केन्द्र प्रयोगशाला, स्वास्थ्य कार्यालयहरु, जिल्ला अस्पतालअन्तर्गतका प्रयोगशालाहरु, आयुर्वेद औषधालय/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रअन्तर्गतका प्रयोगशालाहरु रहेका छन् ।

यसैगरी, स्थानीय तहअन्तर्गत नगर/आधारभूत अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक तथा सहरी स्वास्थ्य इकाइ अन्तर्गतका प्रयोगशाला रहेका छन् ।

निजी तथा गैरसरकारी स्वास्थ्य संस्थासँग सम्बन्धित प्रयोगशालामा निजी अस्पताल, संस्थागत अस्पताल, सामुदायिक अस्पतालअन्तर्गत सञ्चालित प्रयोगशाला, गैरसरकारी संस्थाद्वारा सञ्चालित प्रयोगशाला, स्ट्यान्डअलोन प्रयोगशाला, पोलिक्लिनिक तथा क्लिनिकमा आधारित प्रयोगशाला, वैदेशिक रोजगार प्रयोगशाला तथा नमुना संकलन केन्द्र रहेका छन् ।

प्रदेश प्रयोगशालाले पर्याप्त जनशक्ति अभाव, फोहोर व्यवस्थापनमा समस्या, प्रविधि, औजार तथा उपकरण, विद्युत् आपूर्ति र पावर व्याकअपको समस्या, तालिमको अभाव, पर्याप्त ठाउँको अभाव, सूचना प्रणाली व्यवस्थापन, गुणस्तर नियन्त्रण, पारिश्रमिक र प्रोत्साहनमा असमानता, अस्पष्ट दर्ता प्रक्रिया प्रयोगशाला सञ्चालनका मुख्य समस्या भएको उल्लेख गरेको छ ।

५ प्रयोशालालाई पिसिआर जाँच अनुमति

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार प्रदेशमा ५ वटा पिसिआर जाँच प्रयोगशाला रहेका छन् । कास्कीको पोखरामा २०७६ को चैतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड परीक्षण सुरु गरिएको थियो । प्रतिष्ठानमा हाल ४ प्राविधिक, २ रिपोर्टिङ र डाटा व्यवस्थापन जनशक्ति तथा १ सहयोगी गरी ७ कर्मचारी कार्यरत छन् ।

पाखेराकै प्रदेश जनस्वास्थ्य प्रयोगशाला (क्षयरोग उपचार केन्द्र) मा २०७७ असारमा कोभिड ल्याबको रुपमा सञ्चालन थालिएको थियो । प्रदेश प्रयोगशालामा १५ प्राविधिक, ४ रिपोर्टिङ र डाटा व्यवस्थापन तथा ३ सहयोगी गरी २२ जना कार्यरत छन् ।

यस्तै, धौलागिरी अस्पताल बागलुङ, मध्यविन्दु अस्पताल नवलपरासीमा सरकारी प्रयोगशाला सञ्चालनमा छन् भने पोखरामा लाइफ केयर डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिमा कोभिड जाँच हुन्छ । धौलागिरीमा ७ जना प्राविधिक, १ जना रिपोर्टिङ र १ जना सहयोगी गरी ९ जना कार्यरत छन् भने मध्यबिन्दुमा ७ जना प्राविधिक र २ जना सहयोगी गरी ९ जना कार्यरत छन् ।

निजी क्षेत्रबाट कोभिड जाँच अनुमति पाएको प्रदेशको एकमात्र प्रयोगशाला लाइफकेयरले १५ जना प्राविधिक, ३ जना रिपोर्टिङ र २ जना सहयोगी गरी २० जना कर्मचारी व्यवस्थापन गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
प्रदेश प्रयोगशालाका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दैनिक ६० पिसिआर जाँच गर्न सक्ने क्षमता रहेको छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १ हजार पिसिआर जाँच गर्ने क्षमता छ । धौलागिरीको २५०, मध्यविन्दुको १८८ र लाइफकेयरको दैनिक ३०० पिसिआर जाँच क्षमता रहेको छ ।

कास्कीमा १९ सरकारी र ८१ निजी प्रयोगशाला

गण्डकीको कास्कीमा सरकारीभन्दा झण्डै साढे ४ गुणा बढी निजी प्रयोगशाला रहेको तथ्यांक सार्वजनिक भएको छ । सरकारी १९ प्रयोगशाला छन् भने निजी ८१ प्रयोगशाला रहेका छन् ।

यस्तै, तनुहँमा १८ सरकारी प्रयोगशाला छन् भने ३३ निजी प्रयोगशाला रहेका छन् । मुस्ताङ र मनाङमा जिल्ला अस्पतालको प्रयोगशालसहित ४/४ वटा सरकारी प्रयोगशाला छन् भने निजीरुपमा प्रयोगशाला सञ्चालनमा नरहेको बताइएको छ । म्याग्दीमा ७ सरकारी ४ निजी, बागलुङमा २७ सरकारी तथा १३ निजी प्रयोगशाला सञ्चालित छन् ।

यस्तै, पर्वतमा १२ सरकारी र ८ निजी तथा गैरसरकारी, स्याङ्जामा १९ सरकारी र निजी तथा गैरसरकारी ९ वटा प्रयोगशाला छन् । लमजुङमा १७ सरकारी तथा ११ निजी तथा गैरसरकारी, गोरखामा १८ सरकारी र १६ निजी तथा गैरसरकारी प्रयोगशाला रहेको प्रदेश प्रयोगशालाले जनाएको छ । नवलपरासी सुस्ता पूर्वमा समान १६ वटा सरकारी र निजी तथा गैरसरकारी प्रयोगशाला रहेका छन् ।

छैन नियमित अनुगमन

गण्डकी प्रदेश प्रयोगशालाले १९१ निजी प्रयोगशालाको विवरण सार्वजनिक गरेपनि अनुमति बिना सञ्चालित प्रयोगशालाको वास्तविक विवरण बाहिर आउन सकेको छैन । एउटा अनुमति लिएर अर्काे काम गर्ने थुप्रै क्लिनिक तथा ल्याबहरु मापदण्ड तथा कानुनी दायरामा आउन सकेका छैनन् ।

ल्याब सञ्चालन अनुमति ई समूहका लागि सम्बन्धित स्वास्थ्य कार्यालयबाट, सी र डी समूहका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट तथा ए र बी का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट लिनुपर्ने प्रावधान रहेको प्रयोगशालाले जनाएको छ ।

यसअघि युनाइटेड रेफ्रेन्स ल्याबका तनहुँका दमौली र शुक्लागण्डकी शाखा तथा बिध ल्याब पोखरा शाखा दर्ता बिना सञ्चालन गरिएको पाइएकाले बन्द गरिएको थियो ।

यस्तै, तनहुँका प्रजु थापा फार्मेसी, राना मेडिकलले फार्मेसी दर्ता गरी मेडिकल सञ्चालन गरेका, ऋषि एक्सरे क्लिनिकले बिना अनुमति एक्सरे सेवा सञ्चालन गरेकाले बन्द गरिएको थियो । दर्ता नभएका औषधी पसलसमेत बन्द गरिएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #गण्डकी प्रदेश, #गण्डकी मेडिकल कलेज, #पिसिआर जाँच, #पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, #मणिपाल शिक्षण अस्पताल, #स्वास्थ्य प्रयोगशाला


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ