२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी प्रादेशिक अस्पतालको सेवा चुस्त बन्दै, १ महिनामै ९१ सफल शल्यक्रिया

धौलागिरी प्रादेशिक अस्पतालको सेवा चुस्त बन्दै, १ महिनामै ९१ सफल शल्यक्रिया

डायलाइसिस सेवा विस्तार


पोखरा— बागलुङ जिल्लाको शल्यक्रिया हुने एकमात्र अस्पताल धौलागिरी प्रादेशिक अस्पताल हो । अस्पतालको भवन निर्माण प्रक्रियामा ढिलाइ भएपछि सेवा विस्तारमा कठिनाइ भएको छ ।

यद्यपि थप सेवा दिन अस्पताल प्रयासरत रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको सेवाबाट सेवाग्राहीको समय र पैसा बचत भएको छ ।

यसैबीच अस्पतालले साउन महिनामा ९१ सफल शल्यक्रिया गरेको छ । आ.ब. २०७८/०७९ को सुरुवाती महिनामा नै प्रसुतीका ४०, हाडजोर्नीका ४५, नाक, कान घाँटीका ४, बच्चाको १ र दाँतको १ शल्यक्रिया भएको मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार शल्यक्रियाका लागि छुट्टै सर्जन भने अस्पतालमा छैनन् । प्रसुति रोग विशेषज्ञबाट नै प्रसुति सम्बन्धी शल्यक्रिया हुने गरेका छन् भने हाडजोर्नीका विशेषज्ञ डाक्टरबाट हाडजोर्नीको शल्यक्रिया हुने गरेका छन् । यस्तै बालरोग विशेषज्ञबाट बच्चाको र दन्त रोग विशेषज्ञ चिकित्सकबाट दाँतको शल्यक्रिया गरिएको हो ।

अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको करिब ३ वर्ष भएको छ । यस अवधिमा पछिल्लो १ महिनामा मासिक उपलब्धि मूल्यांकन गर्दा सबैभन्दा उच्च भएको मेडिकल रेकर्डर पौडेलले बताए ।

मेडिकल रेकर्डर पौडेल भन्छन्, ‘अस्पतालमा जनशक्तिको अभाव छ, करारमा आएका चिकित्सक पनि करार सकिनासाथ बाहिरी हाल्नुहुन्छ ।’

अहिले अस्पतालमा हाडजोर्नीका २, प्रसुतिका १, बच्चाका २, दाँतका १ जना चिकित्सकले सेवा दिइरहेका छन् । शल्यक्रियाका लागि अत्यावश्यक एनेस्थेसियोलोजिष्ट १ जना मात्रै रहेकोमा उनको पनि करार अवधि सकिन लागेको र त्यसपछि उनी पनि त्यहाँबाट बाहिरिने अवस्था छ । एनेस्थेसियोलोजिष्ट सहायक वान्टेड भएको भएपनि नपाएको अस्पतालले जनाएको छ ।

अस्पतालमा आउने प्रसुतीलगायत विभिन्न सेवाका लागि पोखरालगायत अन्यत्र सिफारिस गर्ने अवस्था पनि नहुने र बिरामीको अवस्था भने जटिल बन्ने अवस्थामा भने शल्यक्रिया धेरै हुने गरेका छन् ।

यसैगरी, अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा २ थान डायलाइसिस मेसिन थप गरिएको हो । यसअघि ४ शैय्यामा सेवा दिइएको डायलाइसिस सेवा विस्तार गरी ६ शैय्यामा दिन सकिने भएको अस्पतालले जनाएको छ ।

तत्कालका लागि २ वटा डायलाइसिस मेसिन आएपनि थप उपकरण उपलब्ध गराउने आश्वासन गण्डकीका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले दिएको उनको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ