२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकालीगण्डकी गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने

कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने


पोखरा – नेपाल सरकारले आर्थिक वर्ष २०७२-०७३ मा कैलालीबाट स्वास्थ्य बिमा योजना सुरु ग¥यो । आर्थिक वर्ष २०७७÷०७८ सम्म आइपुग्दा ७५ जिल्लामा यो सेवा सुरु भएको छ ।

यसबाट गरिब र विपन्नहरुको उपचारमा सहयोग पुग्ने विश्वास लिइएको यियो । सरकारले क्रमशः लक्षित समूह थप गरी ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा नि:शुल्क हुने व्यवस्था गरिदियो ।

स्वास्थ्य बिमा योजना गरिब र विपन्न समूहका लागि राम्रो स्किम भए पनि बिमा बोर्डले औषधीको सूची अद्यावधि नगरिदिँदा डाक्टरले सिफारिस गरेको धेरै प्रकारका औषधी स्वास्थ्य बिमा कार्यक्रममार्फत नपाएको सर्वसाधारणको गुनासो छ ।

स्वास्थ्य बिमा सहजकर्ताहरु स्वास्थ्य बिमामा त डाक्टरले लेखिदिएको धेरै प्रकारका औषधी नै पाइँदैनन् नि भन्दा नाजवाफ भएर फर्कने गरेका छन् । तर पनि स्वास्थ्य बिमा कार्यक्रममा दिनप्रतिदिन सहभागी हुने सर्वसाधारणको संख्या बढ्दो छ ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालय गण्डकीका दर्ता अधिकारी खेमनारायण चौधरीका अनुसार हालसम्म १ लाख ७३ हजार २ सय ९८ को सेवा सक्रिय रहेको छ । यो गण्डकी प्रदेशको विवरण हो । भदौ मसान्तसम्म नयाँ दर्ता थपिने भएकाले १५ सयको हाराहारीमा थप बिमीत दर्ता हुनसक्ने उनको अनुमान थियो ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत २०७३ को १ जेठमा कैलालीबाट सेवा सुरु भएको थियो । २०७३ सालमा ८ जिल्लामा, २०७४ सालमा १७ जिल्लामा, २०७५ सालमा ११ जिल्लामा सेवा सुरु भएको थियो । यस्तै २०७६ सालमा १३ जिल्लामा, २०७७ सालमा १५ जिल्लामा र २०७८ सालको जेठसम्ममा ११ जिल्लामा सेवा सुरु भएको थियो ।

यसैबीच स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकावासी सबैको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिका अध्यक्ष खिमबहादुर थापा आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरी हरेक वर्ष गाउँपालिकाले नै सबैको स्वास्थ्य बिमा गरिदिने बताउँछन् । थापाका अनुसार गाउँपालिकामा करिब ४८ सय घरधुरीमध्ये १५ सय हाराहारीमा १ भदौबाट सेवा लिने गरी स्वास्थ्य बिमा भइसकेको छ ।

अध्यक्ष थापा भन्छन्,‘आगामी मंसिरसम्म सबैको स्वास्थ्य बिमा गरिसक्ने लक्ष्य छ, त्यो पूरा हुन्छ । पहिल्यै बिमा गरिसकेका तर मंसिरपछि म्याद सकिएकाको पनि नवीकरण गाउँपालिकाले नै गरिदिन्छ ।’ दलित, एकल महिला, अपांग, आर्थिक विपन्न र पहिले स्वास्थ्य बिमा गरेका तर म्याद सकिएकालाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ थियो ।

गाउँपालिकामा २९-३० हजार जनसंख्या रहेको गाउँपालिका अध्यक्ष थापा बताउँछन् । पालिकावासीको स्वास्थ्य बिमा गर्न गाउँपालिकाले १ करोड ५० लाख विनियोजन गरेको गाउँपालिका सूचना अधिकारी हिरामणि पाण्डेले जानकारी दिए । नवौं गाउँसभाबाट उक्त रकम स्वास्थ्य बिमा कार्यक्रमका लागि पारित भएको हो ।

उनका अनुसार सबैको स्वास्थ्य बिमा गर्ने भनिए पनि सबैको एकैपटक हुने छैन । उनले भने,‘केहीले पहिले नै आफैं गरिसक्नुभएको छ, उहाँहरुको म्याद सकिएपछि नवीकरण गर्ने हो ।’ स्वास्थ्य बिमा कार्यक्रमअन्तर्ग ३ हजार ५ सय रुपैयाँले १ लाखसम्मको सेवा ५ जनाको परिवारले लिनसक्ने व्यवस्था छ ।

सबै घरमा समान पारिवारिक सदस्य नभएकाले गाउँपालिकाले ५ जनाको समूहमा स्वास्थ्य बिमा गरिदिएको छ । यसबाट एकता र आर्थिक बचत हुने विश्वास गाउँपालिकाले लिएको छ ।

पहिले नै स्वास्थ्य बिमा गरिसकेकाहरुलाई सामान्य लागे पनि आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्ने र बिमा पनि गर्न नसक्ने अति विपन्न परिवार भने असाध्यै खुसी भएको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ की वडा सदस्य टीकाकुमारी विश्वकर्माले बताइन् । अब बिरामी परे पैसा अभावमा रोग लुकाएर कोही पनि नबस्ने उनले विश्वास व्यक्त गरिन् ।

स्वास्थ्य बिमा गरिदिएका पालिकावासी बिरामीलाई गाउँपालिकाले सञ्चालन गरेको कालीगण्डकी अस्पताल नै प्रथम सेवा बिन्दु हुनेछ । कालीगण्डकी अस्पताल पुगेपछि पाल्पाको मिसन अस्पताल, पोखराको मणिपाल, क्षेत्रीय अस्पताललगायत बिरामीको चाहना अनुसार पनि डाक्टरले रिफर गर्न सक्ने सूचना अधिकारी पाण्डेले स्पष्ट पारे ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ