२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यविन्दु नगरपालिकामा स्वास्थ्यकर्मी व्यवस्थापन अन्यौलमा

मध्यविन्दु नगरपालिकामा स्वास्थ्यकर्मी व्यवस्थापन अन्यौलमा


पोखरा –  नवलपुरको मध्यबिन्दु नगरपालिकामा १ प्राथमिक स्वास्थ्य उपचार केन्द्र, ६ वटा स्वास्थ्य केन्द्र र ९ आधारभूत स्वास्थ्य इकाइ छन् । पहाडी र तराइ भूगोल समेटिएको मध्यविन्दुमा जनशक्ति पाउन भने कठिन छैन ।

स्वास्थ्य केन्द्रमा आउनुपर्ने दरबन्दी अझै नआएकोले स्वास्थ्यकर्मीको दरवन्दी अझै अपुग रहेको मध्यविन्दु नगर स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोखरेल बताउँछन् । तथापि दबाबमा सरुवा नभइ सहमतिमा कर्मचारी सरुवा हुन थालेपछि भने केही सहज भएको उनको भनाइ छ ।

नगरपालिकामा स्वास्थ्यका २ स्वीकृत दरबन्दी रिक्त छन् । राज्य संघीय संरचनामा गइसकेपछि खुलेका ९ आधारभूत स्वास्थ्य इकाइमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । संघमार्फत पठाइएका करारका स्वास्थ्यकर्मी व्यवस्थापनमा जटिलता देखिएको छ ।

स्थानीय तहले तलब उपलब्ध गराउने नसक्ने अवस्थामा उनीहरु सेवाबाट निस्कनुपर्ने अवस्था रहेको प्रमुख पोखरेलले बताए । उनले भने,‘ स्थानीय तहले तलब दिन नसके हटाउनुपर्ने अवस्था छ । संघले नहेरेको अवस्था हो ।’ दरवन्दी भए पदपूर्तिका लागि कुनै समस्या नहुने र तराई क्षेत्र भएकाले विज्ञापनमा दरखास्त नपर्ने समस्या पनि नहुने उनको तर्क छ ।

औषधीको विषयमा पनि मध्यविन्दुमा केही जटिलता छ ।

प्रमुख पोखरेलकाअनुसार स्थानीय तहले किन्ने औषधीको उपलब्धता सहज भइरहेको भए पनि संघ र प्रदेशले समन्वय गर्नुपर्ने औषधीमा असहज भइरहेको अवस्था छ । ‘प्रदेश र संघले उपलब्ध गराउने चाहिँ नियमित नभएको हो, पालिकाले किन्नेमा समस्या छैन,’ उनले भने, ‘प्रदेश र स्थानीयतहबीच ग्याप रहेको छ, त्यसलाई पुर्न खोजिरहेका छौं ।’

‘कोभिडले सबैलाई सचेत बनाएको बुझेका छौं, अन्यखालका समस्या कम भएका हामीले ठानेका छौं । कोभिडपछि खानपिन, सरसफाइमा ध्यान दिंदा सरुवा रोगमा कमी छ,’ उनले भने ।

आकस्मिक तथा मौसमी स्वास्थ्य जटिलता तत्काल समाधानका लागि आरआरटी (¥यापिड रेस्क्यु टिम) रहेकाले तत्काल समस्या भएका ठाउँमा टोली पठाएर आवश्यक कारबाही थाल्ने गरी योजना नगरपालिकाले बनाएको छ । उनले थपे, ‘ मौसमअनुसार हुन सक्ने स्वास्थ्य समस्या पूर्वानुमान गरी तयारी गरेका हुन्छौं, केही औषधी पनि तयारी अवस्थामा राख्छौं ।’

नगरपालिकामा पछिल्लो समयमा मौसमी तथा सरुवा रोगका समस्या घटेको प्रमुख पोखरेलले बताए । मध्यबिन्दुमा अघिल्ला वर्षहरुमा डेंगु देखिएपछि तत्काल डेंगु किटमार्फत तत्काल जाँच गरेर न्यूनीकरण र समस्या समाधान गरिएको उनले बताए ।

नगर भए पनि गरिब र अशिक्षित पनि रहेकोले स्वास्थ्य समस्या धेरै नै देखिने गरेको थियो । यसवर्ष भने डेंगु प्रकोप देखिएको छैन । नगरपालिकामा गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग हुने समस्या रहेको उनले खुलाए ।

उनका अनुसार पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढी छ । असुरक्षित तबरले हुने वा भरतपुर गएर गर्ने गर्भपतनबारे तथ्य दिन कठिनाइ भएको उनी बताउँछन् । मध्यविन्दु जिल्ला अस्पताल संघीय संरचनामा गइसकेपछि स्थापना भएकाले त्यसअघि भरतपुर जान बानी परेकाहरु उपचारका लागि सिधै चितवन पुग्छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ