२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशहुम्लाका लागि औषधी संकलन गर्दै विश्व साइकल यात्रीद्वय मिश्र र खत्री

हुम्लाका लागि औषधी संकलन गर्दै विश्व साइकल यात्रीद्वय मिश्र र खत्री


पोखरा—भक्तपुरका अजय मिश्रका घरमा राजनीतिक तथा साहित्यिक भेटघाट चलिरहन्थ्यो । अजयका हजुरबुबा युद्धप्रसाद मिश्रले साहित्यमा छुट्टै पहिचान बनाइसकेका थिए । हजुरबुबाबाट प्रभावित मिश्रलाई बाल्यकालदेखि नै केही फरक गर्न पाए हुन्थ्यो भइरहन्थ्यो । उनले आफ्ना बाल सखा भगत खत्रीसँग सल्लाह गरे । दुई जनाको सल्लाहबाट निष्कर्ष निस्कियो— विश्व साइकल यात्रा तथा पैदल यात्रामा निस्कने । देशलाई चिनाउने लक्ष्यसहित विश्व साइकल तथा पैदल यात्रामा निस्केका उनीहरुले १ सयभन्दा बढी देश यात्रा गरिसकेका छन् । यतिबेला तिनै यात्रीद्वय खत्री र मिश्रले हुम्लामा औषधी पु¥याउने अभियान लिएर पोखरा यात्रा जारी राखेका छन् ।

पोखरामा हिजोआज औषधी सहयोग अपील गर्दै ब्यानरसहितको गाडी गुडेको देखिन्छ । कानुन त औषधी बिक्री वितरण गर्न सरकारबाट अनुमति प्राप्त स्वास्थ्यकर्मी हुनुपर्छ । तर, माइकिङ गर्दै अन्य सामान्य खाद्यवस्तु झैं औषधी उपलब्ध गराउन अपील भइरहेको छ । यो अभियानबाट संकलित औषधी हुम्लाका स्वास्थ्य संस्थालाई दिइने छ । पोखरामा अभियान अझै ४÷५ दिन चल्ने बताइएको छ ।

हुम्लाको हेक्का गाउँपालिकाका—१ सय हाराहारीका घरधुरीलाई औषधी पु¥याउने उद्देश्यले अभियानसहित पोखरा आएको मिश्रले बताए । यसअघि पनि उनीहरु अभियान लिएर यहाँ आएका थिए । त्यतिबेला पोखरेलीले गरेको सहयोग अविस्मरणीय भएकाले फेरि आएको खत्रीले जानकारी दिए ।

हेक्काका लागि करिब डेढ लाख रुपैयाँ बराबरको औषधी र सोही बराबरको ढुवानी खर्च लाग्ने उनीहरुको भनाइ छ । पोखरालगायत तनहुँ, चितवन हुँदै नेपालगञ्ज पुग्ने र संकलित औषधी स्थानीय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने उनीहरुले स्पष्ट पारे । ‘संकलित औषधी हुम्लाका स्थानीय स्वास्थ्य चौकीलाई प्रदान गर्नेछौं । हामी औषधी लैजाने माध्यममात्रै हौ । सहयोग अरुले गर्नुहुन्छ, औषधी सिफारिस स्वास्थ्यकर्मीले गर्नुहुन्छ,’ मिश्रले भने ।

एक महिनाअघि १० हजार बराबरको औषधी उपलब्ध गराएर उनीहरुले सो अभियान सुरु गरेका थिए । यहाँ आएको २ दिनमा ५ हजार बराबरको औषधी संकलन भइसकेको छ । एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्विसेज तथा मेडिप्लसका अध्यक्ष रमेशकुमार थापाले आवश्यक औषधी उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । सो सहयोग आए बाँकी औषधी अन्य गाउँपलिकामा दिन सकिने उनीको भनाइ छ । यसअघि काठमाडौं र भक्तपुरमा १५ हजार हाराहारीको औषधी संकलन भइसकेको थियो । सिटामोलसमेत नपाएका हुम्लाका जनतालाई औषधी उपलब्ध गराइने उनीहरुले स्पष्ट पारे ।

वि.सं. २०६१ सालबाट सुरु भएको विश्व साइकल तथा पैदल यात्रा कोभिड संक्रमण जोखिमका कारण स्थगित भएको छ । उनीहरु भन्छन्, ‘अहिले स्थगित भएको हो, टुंगिएको होइन ।’ मध्यपुर–३ ठिमी, भक्तपुर स्थायी घर भएका उनीहरुले १ सय देशको यात्रा गरेको सुनाए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ