२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी अस्पतालमा ८६ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

धौलागिरी अस्पतालमा ८६ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण


पोखरा –  तीजको दिन थियो । गत २४ भदौमा बागलुङ १० भकुण्ठेकी ८६ वर्षीया तुलसा थापा शौचालय जाने क्रममा लडिन् । उनको कम्मरको देब्रेपट्टिको हड्डीको गेडी फुट्यो । उनलाई धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङमा लगियो । चिकित्सकले चेकजाँच गरेपछि शल्यक्रिया गर्नुपर्ने र जोर्नी प्रत्यारोपण गर्नुपर्ने तर उमेरका कारण जोखि उच्च रहेको बताए ।

तुलसामा देखिएको समस्या समाधानका लागि शल्यक्रियामार्फत् हड्डीको गेडी प्रत्यारोपण नै विकल्प थियो । जसलाई मेडिकल भाषामा नेक अफ फिमर भनिने हाडजोर्नी विशेषज्ञ डा. प्रतीक आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘यसअघि ७० वर्षका वृद्धको यही प्रकृतिको सफल उपचार गरेका थियौं, ८६ वर्षमा जोखिमका बीच गरिएको यो शल्यक्रिया हाम्रो उपलब्धि हो ।’ धौलागिरीमा गरिएको सबैभन्दा बढी उमेरको जोर्नीको गेडी प्रत्यारोपण पहिलो भएको डा. आचार्य बताउँछन् ।

शल्यक्रियामा डा. आचार्यलाई एनेस्थेसियोलोजिस्ट डा. नवीन पौडेल लगायत स्वास्थ्यर्कीले सघाएका थिए ।

तुलसालाई दुई पटकसम्म उपचारका लागि अस्पताल लगियो तर शल्यक्रियाका लागि तयार भइनन् । बस्न, हिँड्न नै समस्या हुने र शल्यक्रियाका विकल्प नभएपछि परिवारका सदस्य र तुलसासमेत शल्यक्रिया गर्न जोखिम नै भए पनि तयार भएका हुन् ।

डा. आचार्य भन्छन्,‘ प्राइभेट अस्पतालमा यही सुविधा लिन लाखौं खर्च गर्नुपर्ने हुन्थ्यो तर  हामीले सरकारी अस्पतालमा पनि यो स्तरको सेवा पाइन्छ भन्ने बुझाउन पनि रिस्क लिएको हो ।’

चिकित्सकका अनुसार शल्यक्रिया सफल हुन उमेर, दीर्घरोग लगायत विभिन्न पक्षले प्रभाव पार्छन् । जति उमेर बढी हुन्छ, त्यति नै जोखिम बढ्दै जान्छ । डा. आचार्य  अब १०-१२ दिनजति अस्पतालमा राखेर तुलसालाई डिस्चार्ज गर्न सकिने बताउँछन् । उनले भने,‘बिहीबार शल्यक्रिया भएको हो, शुक्रबारबाट बेड केही खुम्च्याएर बस्नलाई सहज बनाइएको छ ।’

अस्पतालबाट डिस्चार्ज हुँदा सामान्य हिँडडुल गर्न सक्ने हुने डा. आचार्यको विश्वास छ । उनका अनुसार साउन महिनामा गरिएका ९१ शल्यक्रियामध्ये ४५ वटा हाडजोर्नीका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ