२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराको जिएमसीमा क्लियरसिप गरिरहेका एमबिबिएस पढ्ने विद्यार्थीको डुबेर मृत्यु

पोखराको जिएमसीमा क्लियरसिप गरिरहेका एमबिबिएस पढ्ने विद्यार्थीको डुबेर मृत्यु


पोखरा – गण्डकी मेडिकल कलेज पोखरामा क्लियरसिपमा रहेका भारतीय एक एमविबिएस विद्यार्थीको फुस्रेखोलामा डुबेर मृत्यु भएको छ । पोखरा १७स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर भारत राजस्थानका विश्वास पुनीको आइतबार मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको हो ।

उनी आफ्ना ५ जना साथीहरुसहित फुस्रेखोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्न गएकामध्ये ३ जना साढे ११ बजेतिर खोलामा हेलिए, जसमध्ये विश्वास खोलामै बेपत्ता भए । केही समयपछि उनलाई साथीहरुले अलि तल देखेर खोलाबाट बाहिर निकालेका थिए ।

कास्कीका प्रहरी प्रवक्ता सुभाष हमालका अनुसार खोलामा डुबेका पुनीलाई उनका साथीहरुले नै बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए । विश्वास जिएमसीको इमर्जेन्सी विभागमा ३ महिनाअघिदेखि क्लियरसिप गरिरहेका जिएमसी अस्पताल प्रशासनले जनायो । अस्पताल प्रशासनका अनुसार क्लियरसिपमा आउनेले बिरामीको उपचार गर्न नपाउने तर अवलोकनमार्फत सिक्न पाउने हुन्छ ।

गण्डकी मेडिकल कलेजमा विदेशी कलेजहरुमा अध्ययन गरेका विद्यार्थीहरु क्लियरसिपमा आउने गर्छन् । विदेशमा महँगो हुने भएकाले त्यस्ता विद्यार्थीको रोजाइमा नेपाल पर्ने गर्छ । नेपाल कम खर्चिलो र बिरामीसँग नजिक हुन सहज हुने भएकाले नेपाल रोजाइमा पर्ने गरेको छ।

विदेशी कतिपय कोर्षमा आफू अध्ययन गरेको कलेजबाहेक अन्य कलेजमा क्लियरसिप गर्नुपर्ने हुन्छ । विदेशी जर्मन, इन्डिया, अमेरिका, न्युजिल्यान्ड लगायत देशबाट गण्डकी मेडिकल कलेजमा क्लियरसिपका लागि पहिले पनि आउने गर्थे । त्यसै क्रममा विश्वास उनका एकजना महिला साथीसहित पोखरा आएका थिए ।

गण्डकी प्रदेश प्रहरीको उद्धार टोलीले उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी कलेजकै होस्टलमा बस्ने गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ