२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराको सडक महोत्सव क्षेत्रमै कोभिड–१९ विरुद्धको खोप, कोभिड सचेतनाको कलात्मक शैली

पोखराको सडक महोत्सव क्षेत्रमै कोभिड–१९ विरुद्धको खोप, कोभिड सचेतनाको कलात्मक शैली


पोखरा–पोखरा सुरु भएको २३ औं सडक महोत्सवमा स्थानीय प्रशासन र स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वदेशी, विदेशी जो सुकैले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था गरिएको छ । बिहीबारबाट पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको व्यवस्थापनमा कोभिड खोप केन्द्र सञ्चालन गरिएको हो ।

कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए । उनले भने, ‘महोत्सवस्थल ३ किलोमिटरभित्र ४/५ ठाउँमा हेल्थ डेस्क राखिएको छ, मास्क, सेनिटाइजर प्रयोग गर्न स्वयंसेवक खटाइएको छ, खोप नलगाएका जोसुकैले सजिलै खोप लगाउन पाउने व्यवस्था मिलाइएको छ ।’ महोत्सव क्षेत्रमै बिहान ११ बजेबाट ४ बजेसम्म एन्टिजेन टेस्ट गर्ने व्यवस्था गरिएको संयोजक भट्टराईले बताए ।

महोत्सव उद्घाटनको दिन ५९ जनाले जोन्सन एन्ड जोन्सनको खोप लगाएको डा. अर्जुन क्षेत्रीले जानकारी दिए । उनकाअनुसार अहिलेसम्म कुनै पनि खोप नलगाएकाले मात्रै महोत्सवको खोप स्टलमा गएर खोप लगाउन मिल्छ । ‘स्टलबाट जान्सन एन्ड जान्सन खोप मात्रै लगाइन्छ, यो खोप कोभिसिल, भेरोसिल लगाएकाले लगाउन मिल्दैन । यो सिंगल डोज भ्याक्सिन हो,’ उनले भने । उनले पहिलो दिन चहल–पहल कम भएर पनि खोप लगाउनेको संख्या कम भएको हुनसक्ने बताए । महोत्सव अवधिमा दैनिक ५ सय हाराहारीमा कोभिड–१९ विरुद्धको खोप लगाउन आउने अनुमान आयोजकको थियो ।

लेकसाइडमा जारी महोत्सवमा कोभिड–१९ सचेतनाका लागि कलात्मक शैली अपनाइएको देखिएको छ । महोत्सव क्षेत्रभित्रका केही स्थानमा फलफूल प्रयोग गरी कलात्मक शैलीले कोभिडबारे सचेतता अपनाउन अपील गरिएको छ । कोभिड–१९ केही कम भएको देखिएको तर जोखिम नहटेको अवस्थामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसिएसनले आयोजना गरेको महोत्सवमा कोभिडबाट बच्न सचेतनाका लागि नयाँ शैलीको उपयोग गरिएको हो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ