२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश१ महिनापछि खुल्यो मनिपाल कलेजको ताला, अस्पताल प्रशासनको खुल्ने अझै अनिश्चित

१ महिनापछि खुल्यो मनिपाल कलेजको ताला, अस्पताल प्रशासनको खुल्ने अझै अनिश्चित


पोखरा—पोखरास्थित मणिपाल शिक्षण कलेज प्रशासनमा तालाबन्दी भएको १ महिनापछि तालाबन्दी खोल्ने सहमति भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको, कलेजको होस्टेलमा १ कोठा १ छात्र नियम बाध्यकारी बनाएको लगायत आरोप लगाउँदै विद्यार्थी आन्दोलित भई तालाबन्दी गरेका थिए ।

चिकित्सा शिक्षा आयोगको पत्र तथा विद्यार्थीको आन्दोलनलाई नजिकबाट हेरिरहेको कास्की प्रशासनले भने कलेज प्रशासनले विद्यार्थीको माग पूरा गरी कलेज खोल्ने वातावरण बनाउनुको विकल्प नरहेको बताएको थियो ।

गत २० मंसिरमा अनेरास्ववियु र नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसन गण्डकी च्याप्टरले आन्दोलन सुरु गर्दै कलेज प्रशासनमा तालाबन्दी गरेका थिए । कलेजको तालाबन्दी जिल्ला प्रशासन कार्यालय कास्की, स्थानीय समुदाय र कलेजमा अध्ययनरत विद्यार्थीको रोहवरमा कलेज प्रशासन र अनेरास्ववियु गण्डकी प्रदेश कमिटीबीच ५ बुँदे सहमतिपछि खुलेको छ । सहमति पत्रको पाँचौ बुँदामा कलेजको ताला खोल्न अनेरास्ववियु तयार रहेको उल्लेख छ ।

सहमतिमा कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गराउने प्रतिबद्धता जनाएको छ । विद्यार्थीसँग अतिरिक्त शुल्क नलिने र लिइसकेको शुल्क आगामी वर्ष तिर्नुपर्ने शुल्क घट्ने गरी व्यवस्थापन गर्ने सहमति भएको छ ।

सहमति पत्रमा अनेरास्ववियुका प्रदेश कमिटी संयोजक प्रकाश पौडेल, मणिपाल कलेजका डाइरेक्टर एड्मिन गौरव यादव, मणिपाल कलेजका प्रशासन प्रमुख भानु भारद्वाज, नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसनका उपाध्यक्ष अनित सिन्हाले हस्ताक्षर गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पोखरा १६ का वडा सदस्य राजेश गुरुङ र व्याच २०२०/२१ का विद्यार्थीहरु रितेशकुमार यादव र अनिल महतोको रोहवरमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

यता, अस्पतालका कर्मचारी आन्दोलित हुँदै पुस २० गतेदेखि अस्पताल प्रशासनमा तालाबन्दी गरेका छन् । कलेजतर्फको तालाबन्दी खुल्ने सहमति भएपनि अस्पताल प्रशासनको तालाबन्दी खुल्नेबारे अन्यौल देखिएको छ । श्रम कार्यालय पोखराबाट काठमाडौं श्रम विभाग पुगेको फाइलमा आवश्यक प्रमाणसहित प्रस्तुत हुन भनेको मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले बताए । उनले भने, ‘हामीले फाइलमा सबै समावेश गरेका छौं । तर, अपुग भएको के हो स्पष्ट छैन ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ