२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमणिपालका कर्मचारी धर्नामा, प्रशासनमा ताला लागेको झण्डै ४ महिनामा पनि सुल्झिएन विवाद

मणिपालका कर्मचारी धर्नामा, प्रशासनमा ताला लागेको झण्डै ४ महिनामा पनि सुल्झिएन विवाद


पोखरा–मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी धर्नासहित आन्दोलनमा उत्रिएका छन् । बिहीबारदेखि अस्पतालले किरिया बिदा, सुत्केरी बिदा नदिएको, न्यूनतम तलबभन्दा कम पारिश्रमिक दिएर काममा लगाएको भन्दै कर्मचारी युनियनले धर्ना दिएका हुन् ।

कर्मचारी युनियनहरुले आफ्ना माग प्रशासनले सुन्नै नचाहेको भन्दै झन्डै ४ महिनादेखि अस्पताल प्रशासनमा ताला लगाएका छन् । कर्मचारीहरु पछिल्लो समय तलब वृद्धिको मागलाई मुख्य एजेन्डा बनाएका छन् ।

मणिपाल प्रशासनले कास्की जिल्ला प्रशासनले दिएको निर्देशनसमेत कार्यान्वयन नगरेको मणिपाल इकाई स्वतन्त्र कर्मचारी संघ अध्यक्ष नवराज भण्डारीले बताए । ‘कास्की प्रशासनले चुनावअघि नै कर्मचारी युनियनसँग भएका सम्झौता कार्यान्वयन गर्नु र जानकारी दिनु भन्ने पत्र पठाएको छ,’ उनले भने, ‘तर, अस्पताल प्रशासन प्रमुख वेवास्ता गर्दै बस्छन् । नयाँ व्यवस्थापनसहित नेपाली लगानीकर्ताले लिएको भनेपनि पुरानैबाट सञ्चालन भइरहेको छ ।’ कर्मचारी युनियनले जिल्ला प्रशासन कार्यालय कास्की र श्रम तथा रोजगार कार्यालय पोखरामासमेत निवेदन दिएका थिए ।

युनियनहरुले अहिले ओपिडी ७ बजेसम्म बन्द गरिएको बताएका छन् । ‘यस्तै, अवस्था रहे अस्पताल नै ठप्प पार्ने आन्दोलन गर्न बाध्य हुन्छौं,’ भण्डारीले थपे, ‘नेपाल सरकारले पनि हामीलाई कि तिमीहरुका माग जायज छैनन्, तिमीहरु खराब छौ भनेर लेखेर दिए हुन्थ्यो ।’

कास्की प्रशासनले पनि छुट्टाछुट्टै बोलाएर छलफल गरेको तर के भन्यो भन्नेबारे जानकारी नभएको अध्यक्ष भण्डारी बताउँछन् । सँगै राखेर वार्ता गरेको भए कार्यान्वयनको पहल हुने उनीहरुको आशा छ । अस्पताल प्रशासनविरुद्ध विभिन्न सरकारी निकायमा निवेदन दिँदा पनि आफ्ना गुनासो सुनुवाई नभएको अध्यक्ष भण्डारीले बताए ।

नेपालमै पहिलोपटक निजी क्षेत्रबाट विदेशी लगानीमा खुलेको यो अस्पताल विवादै विवादको भूमरीमा परेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ