२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशवार्तापछि स्वास्थ्य बीमा बोर्ड नवलपुरको ताला खुल्यो

वार्तापछि स्वास्थ्य बीमा बोर्ड नवलपुरको ताला खुल्यो


पोखरा – स्वास्थ्य बीमा दर्ता सहयोगीले जिल्ला स्वास्थ्य बीमामा सम्पर्क कार्यालय नवलपुरमा गरेको तालाबन्दी खुलेको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारीको मध्यस्ततामा दर्ता सहयोगी तथा बीमाको जिल्ला सम्पर्क कार्यालय नवलपुर कार्यालयका प्रमुख जागेश्वर भुसाल लगायतबीच वार्ता भएपछि ताला खुलेको हो ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष शैलेन्द्रराज उप्रेती तथा डाइरेक्टर दामोदर बसौलाले दायित्व पूरा गर्ने प्रतिवद्धता फोनमार्फत व्यक्त गरेका थिए । बोर्डका अध्यक्ष तथा डाइरेक्टरले सिडिओको मध्यस्ततामा भएको वार्तामा प्रतिवद्धता जनाएपछि ताला खोल्न आन्दोलित दर्ता सहयोगी तयार भएका थिए ।

दर्ता सहयोगी तथा अस्पताललाई दिने भुक्तानी विषयमा तदारुकताका साथ काम गर्ने बोर्डले जनाएको छ । दर्ता सहयोगी तथा स्वास्थ्य बिमाबीच प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको छ ।

करिब १ वर्ष अघिदेखि पारिश्रमिक नपाएको, दर्ता फाराम, स्टेसनरी लगायत आधारभूत कुरासमेत आफूहरुले नपाएको गुनासो दर्ता सहयोगीहरुको छ । स्वास्थ्य बिमा कार्यालयका प्रमुख जागेश्वर भुसाल बोर्डले आन्दोलित दर्ता सहयोगीलाई बर्खास्त गर्नेसम्मको तयारीमा पुगेको भए पनि उनीहरुका माग पूरा गर्नुपर्ने खालका पनि भएकाले कारबाही सिफारिस गर्न नसकेको बताउँछन् ।

उनी भन्छन्, ‘डाइरेक्टर सापले लेटरप्याडमा लेखेर पठाउनुहोस्, कारवाही गर्छु भन्नुभएको थियो, विभिन्न पक्षलाई मध्यनजर गरी कारवाही सिफारिस गर्न सकिएन ।’ दर्ता सहयोगीलाई दर्ता फाराम, रसिद, स्टेसनरी लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन नसक्नु, काम गरेपछि पारिश्रमिक दिन नसक्नु, सेवा प्रदायक संस्थालाई रकम भुक्तानी गर्न नसक्नु बोर्डको कमजोरी भएको नवलपुर प्रमुख भुसाल स्वीकार्छन् ।

नवलपुर जिल्लामा २०७७ फागुनबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । जसका लागि ९२ जना दर्ता सहयोगी रहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ