२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशएनएमए उपाध्यक्षका उम्मेदवार डा. गौचन भन्छन्, ‘स्वास्थ्यमा नीतिगत सुधारका लागि मेरो योगदान रहन्छ’

एनएमए उपाध्यक्षका उम्मेदवार डा. गौचन भन्छन्, ‘स्वास्थ्यमा नीतिगत सुधारका लागि मेरो योगदान रहन्छ’


नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन गण्डकी प्रदेशतर्फको केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् । त्यसो त उनी निर्वाचनमा विजयी भए गण्डकी प्रदेश संयोजकको भूमिकामा रहने छन् । अस्पतालमा प्रमुख जिम्मेवारी सम्हालेका गौचनको एनएमएमा केन्द्रीय समितिमा उपाध्यक्ष पदमा उम्मेदवारी किन भन्नेबारे हेल्थ आवाजका लागि सुनील सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

अस्पतालको कार्यकारी निर्देशक भएर काम गर्नुभएको तपाईं एनएमएमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ, किन ?
अस्पतालको कामबाहेक एनएमए फरक क्षेत्र हो । यसमा थप मिहिनेत गर्नुपर्ने हुन्छ । पहिलेदेखि उठाइएका इस्युज प्रक्रियागत रुपमा टुंग्याउनुर्छ भन्ने हो । अस्पतालमा रहेर काम गर्दा प्रत्यक्ष बिरामीको सेवा हुन्छ भने एनएमएमा रहँदा नीतिगत सेवामा योगदान पुर्‍याउन सकिन्छ भन्ने हो । प्रत्यक्ष सहभागी हुने भनेको त ३/४ महिनामा हो, त्यति धेरै समय त दिनुपर्दैन । केन्द्रीय उपाध्यक्ष पद भएपनि धेरै जिम्मेवारी प्रदेशसँग सम्बन्धित हुन्छ तसर्थ प्रदेशभित्रका चिकित्सकका तथा अस्पताल र बिरामीका लागि उचित नीति निर्माणमा सघाउने उद्देश्यले केन्द्रीय उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिएको हुँ ।

लगभग ७० वर्षभन्दा बढीको इतिहास छ । ३२ हजार चिकित्सक हुनुहुन्छ । तर, स्वास्थ्य सेवा सहज छैन । स्वास्थ्य सेवा सहज बनाउन नीतिगत सुधार आवश्यक छ । एनएमए नेपाल सरकारसँग समन्वय गरेर सुझाव दिने विज्ञहरुको संस्था हो । यसमा बसेर काम गर्दा स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिन्छ । चिकित्सकको वृत्ति विकासमा सुधार ल्याउन सकिन्छ । यसमा बसेर काम सरकारसमक्ष सुधारका योजना पुर्‍याउन सकिन्छ । त्यसैले मेरो उम्मेदवारी हो ।

तपाईं प्राइभेट प्राक्टिस नगर्ने डाक्टर हुनुहुन्छ । डाक्टरहरु प्राइभेट प्राक्टिस नगरी सम्भव नै छैन भन्छन् । यसबारे तपाईंको धारणा के हो ?
‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ हाम्रो महत्वपूर्ण एजेन्डा हो । ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’मा ध्यान दिँदा सेवा र सुविधा राम्रो हुन्छ । तलब सुविधामा एकरुपता आउनुपर्छ भन्ने मेरो विचार हो । पारिश्रमिक राम्रो हुँदा चिकित्सक चिकित्सकलाई एक स्वास्थ्य संस्था, एक चिकित्सक योजना सफल बनाउन सकिन्छ । यो चिकित्सक, स्वास्थ्य संस्था र बिरामीहरुको हितमा हुन्छ । पेसागत मर्यादासमेत यससँग जोडिएको हुन्छ ।

अहिले नेपालमा स्वास्थ्यकर्मी पलायन हुने डरलाग्दो अवस्था छ, स्वास्थ्यकर्मी टिकाउनु मुख्य समस्या छ । समयमै रोक्न सकेनौं भने नेपालको स्वास्थ्य प्रणाली आशालाग्दो देखिँदैन् । हामीले यसलाई रोक्न के गर्न सकिन्छ भन्ने सुझाव दिन सक्छौं । अहिलेको तथ्यांकअनुसार ३२ हजारमध्ये १४ सय चिकित्सक सरकारी स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्छ । ठूलो संख्या गैरसरकारी क्षेत्रमा हुँदा आम नागरिकले स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने अवस्था छ । सरकारी अस्पतालमा चिकित्सक संख्या बढाउने हो भने बिरामीको खर्च र चिकित्सक पलायन रोक्न सकिन्छ । चिकित्सकलाई कुनै न कुनै समयमा सरकारी चिकित्सकको रुपमा काम गर्नैपर्ने नियम ल्याउने हाम्रो योजना हो । पलायन कम गर्न सकिँदा बिरामीलाई सेवा लिन सहज हुनेछ, चिकित्सकलाई पनि काम गर्ने वातावरण हुनेछ । अध्ययनपछि चिकित्सकलाई सरकारी सेवामा काम गर्नैपर्ने नियम स्थापित गराउन मेरो प्रतिबद्धता रहन्छ ।

राजनीतिमा सक्रिय हुने खुट्किलोको रुपमा एनएमए रोज्नुभएको हो ?
मैले अध्ययन गरिसकेपछि मेरो उद्देश्य चिकित्सकीय सेवा दिने नै हो । तर, कतिपय नीतिगत कुरामा राज्य नै पछि पर्दाे रहेछ । नीतिगत कुरा सुधारका लागि विशुद्ध पेशागत विकास गरेर अन्तर्राष्ट्रियस्तरको सेवा सुविधाका लागि झक्झक्याउने ठाउँ नै एनएमए हो । त्यसैले मेरो उम्मेदवारी हो । मलाई राजनीतिमा सक्रिय हुने इच्छा छैन । हामीले लामो समय अध्ययन गरिसकेपछि राजनीतिमा लाग्नु पनि हुुँदैन । हाम्रो विज्ञताअनुसार सेवा दिन सके आम नागरिकका लागि र हामी आफैंका लािग पनि उचित हुनेछ ।

एनएमए उपाध्यक्ष पदमा तपाईंलाई किन जिताउने ?
मेरा थोरै एजेन्डा छन् । १२ हजार सदस्य हुनुहुन्छ । ३२ हजारभन्दा चिकित्सक हुनुहुन्छ । धेरैभन्दा धेरै चिकित्सक भएको संस्था बनाउने । राज्यको तहबाट पाउने पारिश्रमिक एकदमै न्यून भएकाले चिकित्सक पलायन हुने अवस्था छ । यसलाई रोक्न पारिश्रमिक समायोजनमा मेरो भूमिका रहनेछ । पेशागत वृत्ति विकास र सुरक्षामा महत्वपूर्ण योगदान गर्नेछु ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ