२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशडा. सुशीलको स्पाइन सर्जन र डा. सोनाको विशेषज्ञ चिकित्सक बन्ने सपना अधुरै

डा. सुशीलको स्पाइन सर्जन र डा. सोनाको विशेषज्ञ चिकित्सक बन्ने सपना अधुरै

एक महिनापछि स्पाइन सर्जरीमा फेलोसीप गर्न सिंगापुर जाने तयारीमा थिए डा. सुशील


पोखरा-पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थाेपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी पत्नी डा. सोना दिवाकरले ज्यान गुमाएका छन् । दुर्घटनामा उनका १० महिनाका नाबालक छोराको समेत निधन भएको छ ।

पोखरा स्थायी घर भएका डा. श्रेष्ठ गण्डकी बोर्डिङ स्कुलमा विद्यालय तहको अध्ययन पूरा गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेका थिए ।

वि.सं. २०७० सालमा डा. सुशील सरकारी जागिरमा स्थायी भएका थिए । ‘मैले म्याग्दी अस्पताल र उहाँले दरबाङ पिएचसीमा सँगै काम गरेका हौं,’ उनीसँगै म्याग्दीमा केही वर्ष काम गरेकी कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डा. हेमा जोशीले भनिन्, ‘हामीले एमडीको पढाइ पनि सँगै सुरु गरेका हौं । उहाँ अर्थोतिर जानुभयो, म पेडियाट्रिकतिर गए । तर, हामीहरुबीच दाजु बहिनीको सम्बन्ध थियो ।’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिकमा पिजी गरेका श्रेष्ठ सोही अस्पतालमा विगत ३ वर्षदेखि कार्यरत थिए ।

स्पाइन सर्जरीमा रुचि राखेर थप अध्ययन उच्च तहको विशेषज्ञता हासिल गर्ने डा. श्रेष्ठको सपना अधुरै भएको छ । ट्रमा सेन्टरमा अर्थाेपेडिक सर्जनको रुपमा अनुभव बटुलिरहेका उनी स्पाइन सर्जरी सम्बन्धी अग्रजहरुबाट सिक्दै थिए भने स्पाइन सर्जरीमा विशेषज्ञताका लागि सिङ्गापुर गएर अध्ययन गर्ने योजनामा थिए ।

सरल, मिहनेती, जिम्मेवार स्वभावका उनी आफूलाई आइपरेको काम जिम्मेवारी पूर्ण क्षमताका साथ पूरा गर्थे । नामजस्तै सुशील व्यवहार भएका उनी साथीहरुसँग पोखरामै फर्किएर स्पाइन सर्जरी सेवा दिने सोच रहेको बताउँथे ।

ट्रमा सेन्टरका पूर्व निर्देशक सन्तोष पौडेलकाअनुसार डा. श्रेष्ठ लामो समय काठमाडौं नबस्ने, पोखरामै आएर सेवा दिने योजना सुनाउँथे । ‘म धेरै समय काठमाडौं बस्दिनँ । पोखरामै गएर काम गर्छु’ डा. श्रेष्ठको भनाइ उदृत गर्दै ट्रमाका पूर्व निर्देशक डा. पौडेल स्मरण गर्छन्, ‘सँगै काम गर्ने, जुनियर भाइ गुमाउँदा असाध्यै पीडा छ ।’ आइतबारको दुर्घटनाले पोखरेलीलाई स्पाइन सर्जरी सेवा पोखरामै दिने डा. श्रेष्ठको सपना अधुरो भएको छ । पोखरामै बस्ने योजना बनाएका उनी कहिल्यै नफर्किने गरी अस्ताएका छन् ।

ट्रमा सेन्टरका स्पाइन सर्जन डा. गौरव ढकालकाअनुसार घरमा छुट्टी मनाएर फर्किएपछि डा. श्रेष्ठ स्पाइन सर्जरी सम्बन्धी फेलोसीप गर्न सिंगापुर जाने तयारीमा थिए । ‘सिंगापुर जनरल हस्पिटलले उनलाई एक वर्षे फेलोसीप प्रदान गरिसकेको थियो,’ डा. ढकालले भने, ‘अब एक महिनाभित्रमा उनी फेलोसीपका लागि सिंगापुर जाने तयारीमा थिए ।’ उनी डा. श्रेष्ठको स्पाइन सर्जन बन्ने सपना रहेको बताउँछन् ।

विमान दुर्घटनामा परेर ज्यान गुमाएकी डा. सोनाले चितवन मेडिकल कलेजबाट एमबीबीएस गरेकी हुन् । उनी विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी थिइन् । डा. सोनाले त्यसका लागि चिकित्सा शिक्षा आयोगले हालै लिएको एमडी÷एमएसको एकीकृत प्रवेश परीक्षा दिएकी थिइन् । जुन परीक्षा उनले पास गरिसकेकी थिइन् । तर, दुर्घटनामा निधन भएसँगै विशेषज्ञता हासिल गर्ने डा. सोनाको सपना पनि अधुरै रहेको छ ।

‘एकदमै जेन्टलम्यान हुनुहुन्थ्यो । रिसाउने, झर्कने स्वभाव नभएको मान्छे । जिल्लामा सहयोग चाहिएको बेला आएर सहयोग गर्नुहुन्थ्यो । कामप्रति बफादार इमान्दार र बिरामीका लागि खट्ने मान्छे हो,’ डा. हेमाले थपिन्, ‘उहाँहरु दुवै जना आफ्नो पेशाप्रति इमान्दार र सेवाप्रति कर्तव्यनिष्ट हुनुहुन्थ्यो ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ