२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘ओठ तथा तालु फाटेको निःशुल्क उपचार हुन्छ, बच्चाका बुवाआमाले समयमै विचार पुर्‍याऔं’

‘ओठ तथा तालु फाटेको निःशुल्क उपचार हुन्छ, बच्चाका बुवाआमाले समयमै विचार पुर्‍याऔं’


पोखरा—स्याङ्जाको वालिङका एक अभिभावक बच्चाको स्वास्थ्य जाँचका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक डा. रामचन्द्र बाँस्तोला कहाँ पुगे । बिरामी जाँच गर्न सुरु गर्दै गर्दा डा. बाँस्तोलाले बिरामी बच्चासँग कुराकानी गर्ने प्रयास गरे । बच्चाको आवाज प्रष्ट थिएन, नाँके स्वर सुनियो । डा. बाँस्तोलाले मुख खोल्न लगाएर हेर्दा तालु फाटेको पत्ता लगाए । बच्चा ८ वर्षको हुँदासम्म पनि के समस्या हो भन्ने न त बुबाआमाले पत्तो पाए, न त बच्चा जाँच गरिरहेका डाक्टरले नै ।

डा. बाँस्तोलाले अभिभावकसँग सोध्दा उनीहरुले मुखभित्रको उक्त समस्या ‘तालु फाटेको’ देखेको भएपनि समस्या हो भन्ने नबुझेको बताएका थिए । ‘उहाँहरुलाई मैले पहिले डाक्टरलाई देखाउनुभएको थिएन भनेर सोधेको थिए,’ डा. बाँस्तोलाले भने, ‘डाक्टरले केही हुँदैन, यस्तै हो भन्नुभयो भनेर सुनाउनुभयो ।’ यो त बाँस्तोलाले सुनाएको प्रतिनिधि घटनामात्रै हो । ओठ फाटेको बाहिरबाटै प्रष्ट देखिने भएपनि तालु फाटेको भने अभिभावकले ख्याल गर्नैपर्ने उनको भनाइ छ ।

ओठ तथा तालु फाटेको प्लास्टिक सर्जरीबाट उपचार गरी सामान्यजस्तै बनाउन सकिन्छ । डा. शंकरमान राईको टिमले आउने—जाने खर्चसहित निःशुल्क पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यो समस्याको उपचार गरिरहेको डा. बाँस्तोलाले जानकारी दिए ।

डा. रामचन्द्र बाँस्तोला

‘ओठ फाटेको साढे दुईदेखि साढे तीन वर्षभित्रमा सर्जरी गर्नुपर्छ । तालु फाटेको ६ महिनापछि अझ भनौं साढे ८ महिनादेखि १ वर्षभित्र शल्यक्रिया गर्नुपर्छ,’ उनले भने । समयमै उपचार नहुँदा आवाज नाँके हुने, खाना सर्केर ज्यानै जान सक्ने, निमोनिया भइरहने, ओठ फाटेको उपचार ढिला हुँदा रुप बिग्रनेजस्ता समस्या देखिने उनको भनाइ थियो ।

बच्चालाई दुध खुवाउँदा दुध सर्किरहने हुन्छ भने रुँदा घाँटीमा फरक खालको प्वाँल देखिएको छ भने तुरुन्तै बाल रोग विशेषज्ञसँग जाँच गराउन डा. बाँस्तोला आग्रह गर्छन् । एक वर्षभित्रमा उपचार गर्दा बच्चामा कुनै समस्या नरहने उनी बताउँछन् । ठूलो भएपछि पनि उपचार गर्न सकिने भएपनि सामान्य मानिसजस्तो नहुने उनको भनाइ छ ।

डा. बाँस्तोला पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, काठमाडौंको मोडल, कीर्तिपुर अस्पताल लगायतका डा. शंकरमानको टिमले काम गर्ने अस्पतालमा ओठ तथा ताल फाटेको निःशुल्क उपचार हुने बताउँछन् ।

(डा. बास्तोलासँगको कुराकानीमा आधारित)


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ