२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा प्रतिष्ठानमा ६ जनामा मिर्गाैला प्रत्यारोपण, डायलाइसिसमा पालै पाउन मुस्किल

पोखरा प्रतिष्ठानमा ६ जनामा मिर्गाैला प्रत्यारोपण, डायलाइसिसमा पालै पाउन मुस्किल

१२० जनाको नियमित डायलाइसिस, १ सय जना पर्खाइमा


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले ६ जनामा मिर्गाैला प्रत्यारोपण गरेको छ । असारबाट प्रत्यारोपण सेवा थालेको प्रतिष्ठानले चैतमा २ जनाको मिर्गाैला प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

२ जना सर्जन र १ जना नर्स काठमाडौंबाट आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नै मिर्गाैला प्रत्यारोपण गरिने अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्री बताउँछन् । यसअघि गरिएका सबै प्रत्यारोपण सफल भएको उनको भनाइ छ । शल्यक्रिया कक्षको राम्रो व्यवस्था भएको बताउँदै उनले अझ १ वटा राम्रो शल्यक्रिया कक्ष बनाउँदै गरेको बताए ।

प्रतिष्ठानमा मिर्गाैला पीडितका लागि प्रत्यारोपण गर्न सकिने भएपनि डायलाइसिस गर्नुपर्ने बिरामीका लागि भने पालो नपाउने समस्या छ । बिरामीको चाप बढेको र डायलाइसिस नियमित गर्नुपर्ने भएकाले अस्पतालले आएका सबै बिरामीलाई सेवा दिन भने सकेको छैन । हाल अस्पतालले १ सय २० जनालाई १८ मेसिनबाट नियमित डायलाइसिस सेवा दिइरहेको छ ।

अस्पतालमा सूचीकृत भई सेवा लिन नपाएकाको संख्या १ सय रहेको अस्पतालका निर्देशक प्रा.डा. खत्रीले जानकारी दिए । उनीहरुलाई तत्काल सेवा दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ । अस्पतालले मिर्गाैला डायलाइसिस सेवा निःशुल्क दिएको छ । ‘हामीले १८ वटा मेसिन चलाएका छौं,’ उनले भने, ‘हाम्रोमा ठाउँ पनि छैन, म्यानपावर पनि छैन । अन्य ठाउँमा पनि चलाउनुपर्‍यो ।’

अस्पतालमा आएर पालो कुरेका बिरामीले डायलाइसिस सेवा लिन कि त शुल्क तिर्ने गरी अन्य अस्पतालमा जानुपर्छ कि त पहिले डायलाइसिस गरिरहेका बिरामीको मिर्गाैला प्रत्यारोपण गरी डायलाइसिस गर्न नपर्ने हुनुपर्छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रतिष्ठान भएपछि सेवा विस्तार गरिएको भएपनि स्रोत साधन तथा भौतिक पूर्वाधार कमी तथा बिरामीका चापका कारण मागअनुसार सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

प्रतिष्ठानले बीएनएस र बीएस्सी नर्सिङमा अध्यापनका लागि पहिलो पटक २०/२० सिट प्राप्त गरेको छ । एमबीबीएस अध्यापनका लागि पूर्वाधार तयार पार्न स्वास्थ्य मन्त्रालयबाट अनुदान दिनुपर्ने अस्पतालका डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ