२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यविन्दु अस्पताललाई १०० शैय्यामा स्तरोन्नती गर्न माग

मध्यविन्दु अस्पताललाई १०० शैय्यामा स्तरोन्नती गर्न माग


पोखरा—समुदायको पहलमा स्थापित मध्यबिन्दु सामुदायिक अस्पताल संघीयतापछि वि.सं. २०७५ सालमा प्रदेश मातहत ल्याएर जिल्ला अस्पतालका रुपमा सञ्चालन गरिएको थियो । सुरुदेखि नै ५० शैय्यामा सञ्चालन भएको उक्त अस्पतालमा १५ शैय्यामात्रै स्वीकृत छ ।

अस्पतालको स्तरोन्नती तथा व्यवस्थापनमा सहयोग माग्दै अस्पताल सञ्चालक समितिको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

आइतबार अस्पताल अध्यक्ष बालकृष्ण घिमिरेसहितको टोलीले मुख्यमन्त्रीलाई भेटेर स्तरोन्नती र भौतिक संरचना व्यवस्थापनमा सहयोग मागेको हो । १५ शैय्याको स्वीकृती पाएको अस्पतालमा ५० भन्दा बढी शैय्या सञ्चालनमा भएपनि बिरामीको चाप धान्न कठिन भएकाले १ सय शैय्याको अनुमतिका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको अध्यक्ष घिमिरेले बताए ।

उक्त अस्पताल क्षयरोग बिरामीको रिफरल सेन्टरसमेत हो । अस्पताल १ सय शैय्या बनाउन, भौतिक संरचना थप्न, डायलाइसिस सेवा विस्तारलगायत माग गरिएकोमा मुख्यमन्त्री पाण्डेले पहल गर्ने प्रतिबद्धता जनाए । अस्पतालमा १ सय ३१ कर्मचारी छन् । जसमध्ये ३१ जनामात्र सरकारी दरबन्दीका हुन् ।

अस्पतालमा गत सातामात्र ४ वटा डायलाइसिस मेसिन जडान गरिएको छ । प्रति महिना पालो कुरेर बसेका बिरामी १ सय हाराहारीमा छन् । मेसिन थप गर्न र सञ्चालनका लागि कावासोती र मध्यबिन्दु नगरपालिकाका साथै हुप्सेकोट गाउँपालिकाले सघाएको अध्यक्ष घिमिरेको भनाइ छ ।

जर्मन संस्था र नेपाल सरकारको संयुक्त लगानीमा अहिले निर्माणधीन भवनका लागि बजेटसमेत माग गरिएको छ । अस्पतालमा सर्पले डसेका बिरामी धेरै आउने भएकाले पूर्वाधार व्यवस्थापनमा अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. जितेन्द्र कँडेलले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ