२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकलाई ओपिडी र प्रयोगशाला सेवा निःशुल्क

१० वर्षमुनि र ६० वर्षमाथिका नागरिकलाई ओपिडी र प्रयोगशाला सेवा निःशुल्क

आँपपीपल अस्पताल र बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत ल्याइने


पोखरा—गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार नीति तथा कार्यक्रममा प्रदेशभित्र रहेका अस्पतालहरूको स्तरोन्नतीका लागि गरिएको अध्ययन प्रतिवेदनसमेतका आधारमा स्तरवृद्धि गर्न आवश्यक देखिएका अस्पतालको स्तरोन्नती गरिने उल्लेख गरिएको छ ।

गोरखाको आँपपीपल अस्पताल र बाग्लुङको बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहत ल्याउन पहल गर्ने नीति ल्याएको छ । देशले १० वर्षमुनिका बालवालिका तथा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा ओपिडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क गर्ने समावेश गरेको छ । ‘गण्डकीमा डायलाइसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने अवधारणाअनुसार डायलाइसिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नु नपर्ने गरी सेवा विस्तार गर्ने नीति ल्याएको छ ।

भरतपुर क्यान्सर अस्पताल तथा अन्य सरकारी अस्पतालसँग सम्झौता गर्ने र सबै खालको क्यान्सरको उपचारमा १ लाख रुपैयाँसम्मको थप आर्थिक सहायता प्रदान गर्ने उल्लेख छ । निजी क्षेत्रबाट प्रदान गरिएको स्वास्थ्य सेवालाई मानक निर्धारण तथा नियमन गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्ने कार्यक्रम छ ।

मातृ मृत्युलाई प्रदेश सरकारको लक्ष्य हासिल गर्न सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहितको कम्प्रेहेन्सिब इमर्जेन्सी अब्स्ट्रेटिक एन्ड नियोन्याटल केयर सेवाको सुनिश्चितता गर्ने नीति तथा कार्यक्रमा उल्लेख छ ।

प्रदेशमा हुन सक्ने विपद् तथा महामारी न्यूनीकरण, पूर्व तयारी, प्रतिकार्य र पुर्नस्थापनाको लागि आवश्यक प्रबन्ध गरिने, हाई अल्टिच्युड सिकनेसको आपत्तकालीन उपचारका लागि जिल्लास्थित अस्पतालहरूको जिम्मेवारीमा आवश्यक प्रबन्ध मिलाउने उल्लेख गरेको छ । स्वास्थ्य सेवालाई शहीद, वेपत्ता परिवार, द्वन्द्व पीडित, गरिब, दलित, अपांगता भएका तथा उत्पीडित समुदायका व्यक्तिहरूलाई समेत सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वास्थ्य बिमा कार्यक्रममा प्रदेशको सहभागितालाई प्रभावकारी बनाउने कार्यक्रम ल्याएको छ ।

गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुहरूलाई आपत्तकालीन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गरिनेछ । स्वास्थ्य संस्थाबाहिर सुत्केरी हुने दरलाई शून्यमा झार्दै संस्थागत सुत्केरी प्रदेश बनाउन विशेष अभियानको थालनी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय तहसँगको समन्वयमा ग्रामीण अल्ट्रा साउन्ड सेवा विस्तार गर्ने नीति लिएको छ । गण्डकी प्रदेशमा रहेका स्वास्थ्य संस्थाहरूमा प्रयोग भई रहेको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तथा परिवार स्वास्थ्य प्रोफाइललाई विस्तार गरी प्रदेश मातहतका अस्पतालहरूमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली पूर्ण रूपमा लागु गर्ने भनेको छ ।

गण्डकी प्रदेशभित्रै विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्ने नीति लिइनेछ । मुटु रोगसँग सम्बन्धित विशेषज्ञ अस्पताल पोखरामा स्थापना गरिनेछ । साथै, गण्डकी प्रदेशमा बालवालिकाको उपचारका निम्ति सुविधासम्पन्न बाल अस्पताल सञ्चालनका लागि साझेदारी गरिने भएको छ ।

पूर्ण खोपयुक्त प्रदेशलाई दिगो बनाई राख्न खोप सेवा कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिनेछ । बालबालिका, किशोरी र महिलाहरूको पोषण स्थितिमा सुधार ल्याउन तथा पोषण सम्बन्धी व्यवहार परिवर्तनका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । साथै, आयुर्वेद, प्राकृतिक तथा अन्य वैकल्पिक चिकित्सा सेवालाई समय सापेक्ष र प्रभावकारी बनाउने नीति लिएको छ । ‘महिला स्वास्थ्य स्वयंसेविकाहरूको आत्म सम्मान’ कार्यक्रम सञ्चालन गरी प्रोत्साहन गरिनेछ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न ‘विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा विद्यालय नर्स कार्यक्रम’ विस्तार गर्ने उल्लेख गरिएको छ । नसर्ने रोगको बढ्दो भारलाई कम गर्न र जनस्वास्थ्य प्रवद्र्धनका कार्यक्रम गर्न स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिने नीति प्रदेशले लिएको छ । बढ्दो मानसिक रोग र आत्महत्याको श्रृखला तथा जीवनशैलीजन्य रोगको प्रकोप न्यूनीकरणका लागि योग, ध्यान, मनोवैज्ञानिक प्राथमिक उपचार र स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षणको व्यवस्था मिलाइने उल्लेख छ ।

दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न अस्पतालको क्षमता अभिवृद्धि गरी तनहुँ, स्याङ्जा र बागलुङमा प्राथमिक ट्रमा उपचार केन्द्र स्थापना गरिने छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहज रूपमा हुने व्यवस्था मिलाइनेछ ।

किशोरीहरूको मर्यादित महिनावारी प्रवद्र्धनमा ध्यान दिँदै स्थानीय तहको समन्वयमा प्रदेशभित्रका सबै स्वास्थ्य संस्थामा निःशुल्क स्यानिटरी प्याड वितरणको सुविधा उपलब्ध गराइनेछ । यसरी उपलब्ध गराइने स्यानिटरी प्याडमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ ।

जडीबुटी सम्बन्धी परम्परागत ज्ञान र सीपको अभिलेखीकरण गर्दै जडीबुटी खेती प्रवर्द्धन गरिने, सामुदायिकस्तरमा जडीबुटीहरूको मूल्य अभिवृद्धि गर्न कलस्टरमा प्रशोधन तथा भण्डारण केन्द्रहरू निर्माणका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

गण्डकी प्रदेशभित्रका पत्रकारको स्वास्थ्य विमा कार्यक्रम लागु गरिनेछ । संघ सरकार, प्रदेश सरकार र स्थानीय तहको सहकार्य र साझेदारीमा सुनौला हजार दिनका आमा, ५ वर्षमुनिका बालबालिका र किशोरीहरूको पोषण सुधारका लागि सञ्चालनमा रहेको बहु—क्षेत्रीय पोषण योजनालाई निरन्तरता दिने नीति प्रदेश सरकारले लिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ