२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशको स्याङ्जामा भेटिए हैजा संक्रमित

गण्डकी प्रदेशको स्याङ्जामा भेटिए हैजा संक्रमित


पोखरा—गण्डकी प्रदेशको स्याङ्जामा हैजाका बिरामी भेटिएका छन् । पुतलीबजार नगरपालिका—३ मा हैजाको लक्षण भएका बिरामी भेटिएका हुन् ।

पुतलीबजार ३ बस्ने ५१ वर्षीय पुरुषमा झाडापखाला भएर स्याङ्जा अस्पताल गएपछि स्वास्थ्य जाँचका क्रममा आरडिटी किटमा हैजा पोजेटिभ देखिएको थियो । संक्रमित बिरामीले २० साउनमा परिवारका ३ सदस्यसँगै नियुरोको साग खाएका थिए ।

त्यसपछि उनलाई धेरै पटक दिसा लागेको थियो । त्योबाहेक बाहिर यात्रामा गएको वा अन्य कुनै फरक खानेकुरा खाएको नभेटिएको बताइएको छ । स्याङ्जामा हैजाको एक केस रिपोर्ट भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् ।

‘हामीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्याम्पल पठाएका छौं । त्यहाँबाट आउने रिपोर्ट आएपछि थप पुष्टि हुनेछ,’ उनले भनिन्, ‘हामीले उहाँहरुको परिवारको सदस्यको दिसा जाँच गर्ने र खानेपानीको अवस्था पनि जाँच गर्ने तयारी गरिरहेका छौं ।’

हैजाको केस भेटिएपछि स्वास्थ्य कार्यालय स्याङ्जाले योजना बनाएर अघि बढेको जनाएको छ । परिवारका सदस्यहरूमा सम्पर्क ट्रेसिङ सञ्चालन गर्ने र हैजा वा अन्य झाडापखाला भन्ने पुष्टि गर्नका लागि दिसा परीक्षण गर्ने भएको छ । संक्रमितको क्षेत्रमा पानीको परीक्षण गर्न नमुना संकलन गरी परीक्षणका लागि पठाउने जनाएको छ । स्थानीयस्तरमा हैजाबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

वालिङ अस्पताल र स्वास्थ्य निर्देशनालयबाट पानी परीक्षणको लागि मिडिया र मेम्ब्रेन फिल्टरको प्रावधानमा सहयोग गर्न पानी परीक्षण मेसिन उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । क्लिनिकल जानकारीका लागि जिल्ला अस्पतालका एमडिजिपी डा. पुजा सिन्हासँग सम्पर्क गरी पुष्टि लागि नमुनाहरू प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ