२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलमजुङ अस्पतालमा धमाधम थपिदैं सेवा, आईसीयु सञ्चालनको तयारी

लमजुङ अस्पतालमा धमाधम थपिदैं सेवा, आईसीयु सञ्चालनको तयारी


पोखरा—लमजुङ अस्पताललाई गण्डकी प्रदेश मातहत ल्याएपछि अस्पतालले दिने सेवा थप गरिएको छ । सामुदायिकस्तरमा सञ्चालित अस्पताल गत कात्तिकमा प्रदेश मातहत ल्याइएको थियो ।

अस्पतालले पेनलेस डेलिभरी परीक्षणको रुपमा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रमेश आचार्यले बताए । ‘मर्स्याङदी गाउँपालिकाकी ३० वर्षीया मुटुसम्बन्धी समस्या भएकी गर्भवतीको पेनलेस डेलिभरी गराइएको हो । उहाँ अन्यत्र पनि जानुभएको रहेछ । पेनलेस डेलिभरी गराउँछौं भन्ने नभएपछि हाम्रो सम्पर्कमा आएपछि हामीले गरायौं,’ उनले भने, ‘मुटु सम्बन्धी समस्या भएको तर विकल्प नभएको बताएपछि हामीले पेनलेस डेलिभरी गराएका हौं । हाम्रो प्रयास सफल भयो ।’

पेनलेस डेलिभरी सेवा सबै अस्पतालमा नभएको डा. आचार्य बताउँछन् । जोसुकैको सन्दर्भमा यसप्रकारको डेलिभरी नगराइने उनको भनाइ थियो । लगातार १२ घन्टासम्म डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले सबै अवस्थामा सम्भव नहुने उनले स्पट पारे ।

यस्तै, शुक्रबारबाट अस्पतालमा पित्तथैलीको शल्यक्रिया सुरु भएको छ । लमजुङकै ३४ वर्षीया महिलाको पित्तथैलीमा रहेको पत्थरी शल्यक्रियामार्फत निकालिएको डा. आचार्यले जानकारी दिए । बिरामीलाई ३ पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा जनरल सर्जन डा. मुकेश जैसवाल, डा. विज्ञान आचार्य, एनेस्थेसियोलोजिस्ट डा. शिशिर खड्का, मेसु रमेश आचार्यलगायत सहभागी थिए ।

अस्पतालमा २ जना सर्जनसहित १८ जना विशेषज्ञ डाक्टरले सेवा दिइरहेको मेसु डा. आचार्यले जानकारी दिए ।अस्पतालमा दैनिक साढे ३ सय हाराहारीमा बिरामी आउने गरेको भएपनि मस्तिष्कघात भएका, आईसीयुमा राख्नुपर्ने र सिटीस्क्यान गर्नुपर्ने खालका बिरामी मात्रै रिफर गर्ने गरिएको उनको भनाइ छ ।

मेसु डा.आचार्य भदौ दोस्रो सातासम्ममा आईसीयु सञ्चालन गर्ने योजनका साथ काम भइरहेको बताउँछन् । ‘आईसीयु सञ्चालनपछि रिफर गर्नुपर्ने बिरामी अझै कम हुनेछन् । अहिले दैनिक १÷२ जना रिफर गर्ने गरेका छौं,’ उनले भने ।

लमजुङ अस्पताल प्रदेश मातहत ल्याएपछि गुणस्तर खस्कने चिन्तासमेत जिल्लावासीले गरेका थिए । यद्यपि प्रदेशले धमाधम सेवा विस्तारमा जोड दिइरहेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ