२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा एक महिनामा २८ जनामा सापु संक्रमण

गण्डकीमा एक महिनामा २८ जनामा सापु संक्रमण


पोखरा– गण्डकी प्रदेशमा सापुका बिरामी बढेका छन् । पोखरा आसपासमा भदौ अन्तिमदेखि मंसिरसम्म सापुको संक्रमण देखिने गरेको छ ।

हिमालय आँखा अस्पतालले यस वर्षलाई सापु प्रकोप देखिने वर्षका रुपमा आँकलन गरी प्रदेश स्वास्थ्य मन्त्रालय तथा अन्य आँखा केन्द्रहरूमार्फत सचेतना कार्यक्रम भदौबाटै थालेको थियो । रेडियोबाट सूचना प्रसारण गर्ने, जुम मिटिङमार्फत स्वास्थ्यकर्मीहरूलाई सहजीकरण गर्ने लगायत रोकथामका लागि पूर्व तयारी समेत गरिएको थियो ।

सेतो पुतलीको नजिक नजाने, पुतली नछुने, पुतली बसेको कपडा धोएर मात्र प्रयोग गर्ने, सुकाएको ठाउँमै कपडामा सेतो पुतली बसेको र धुलो छोडेको हुन सक्ने तर्फ सचेत रहने, बत्ती बालेर नसुत्ने, झुलभित्र सुत्ने गर्दा सापुबाट जोगिन सकिने विशेषज्ञहरूको भनाइ छ ।

यस वर्ष सेप्टेम्बर १० अर्थात् भदौ २४ मा सापु सङ्क्रमित पहिलो बिरामी उपचारका लागि हिमालय आँखा अस्पताल पुगेका थिए । अस्पतालका निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. इलिया श्रेष्ठ ७ महिनाका बच्चा देखि ५५/६० वर्षका ज्येष्ठ नागरिकसम्म सापुबाट सङ्क्रमित भएको बताउँछिन् ।

डा. श्रेष्ठकाअनुसार गोरखा, बागलुङ, बेनी, तनहुँ(भिमाद)कास्की लगायतका जिल्लाबाट १ महिना अवधिमा २८ जना सापुका बिरामी अस्पतालमा आएका छन् । अस्पतालमा आएका बिरामीमध्ये केहीले सेतो पुतली छोएको त परको कुरा देख्दै नदेखेकालाई पनि सापु भएको बताएको डा.श्रेष्ठले उल्लेख गरिन् ।

धेरै जसो बिरामी सेतो पुतलीको असर नै हो भन्ने बुझेरै अस्पताल आउने गरेका छन् ।
अस्पताल आएका बिरामी मध्ये ८/९ जनाको अप्रेसन गर्नुपर्ने अवस्था थियो भने अन्यलाई भने खाने औषधी र इन्जेक्सन दिएर पठाइएको डा. श्रेष्ठले बताइन् । उनी भन्छिन्–‘अहिले नै आँखापूर्ण निको भयो वा भएन भनेर भन्न सकिँदैन । पिप सुक्न ३/४ महिना पनि लाग्न सक्छ । बिरामीको अवस्था हेरी भर्ना गर्ने वा फलोअपमा हप्ता हप्तामा बोलाउने गर्छाैँ । केही निको भएर फर्कनुभएको छ ।’ ४८ घन्टा भित्र उपचार नपाए आँखाको ज्योतिसमेत गुम्न सक्ने डा. श्रेष्ठ बताउँछिन् ।

सापु संक्रमण भए सक्दो चाँडो अस्पताल पुगेर उपचार गर्नुपर्ने उनको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ