२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसञ्चालनमा आएको १ वर्षपछि आबुखैरनी अस्पताल उद्घाटन, शल्यक्रिया सेवा दिने लक्ष्य

सञ्चालनमा आएको १ वर्षपछि आबुखैरनी अस्पताल उद्घाटन, शल्यक्रिया सेवा दिने लक्ष्य


पोखरा—आबुखैरनी गाउँपालिकाले २०७९ मंसिर १ बाट आफ्नै अस्पताल सञ्चालन ग¥यो । गत वर्ष स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो । सोही अस्पताल प्रधानमन्त्री पुष्पकमल दाहालले १ वर्षपछि शुक्रबार उद्घाटन गरे ।

अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिनेछ । अस्पतालमा १ जना विशेषज्ञ चिकित्सक र ३ जना मेडिकल अधिकृत, १३ जना स्टाफ नर्स, ६ अनमी र ६ प्यारामेडिक्स, ल्याबमा २ जना टेक्निसियनको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

२ जना छात्रवृत्ति करारका डाक्टरबाहेक सबै गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले बताए । ‘शल्यक्रिया पनि छिट्टै सुरु हुन्छ,’ उनले भने । मंसिर महिनाभित्रै एपेन्डिक्स, सुत्केरी गराउने शल्यक्रिया, हाइड्रोसिलको शल्यक्रिया उपकरण व्यवस्था गर्न सके सेवा दिन सकिने उनको भनाइ छ ।

अस्पतालले एक्सरे, अल्ट्रासाउन्ड, ल्याब सेवा दिनेछ भने ३ डायलाइसिस मेसिन पनि सेवा दिनका लागि तयार भइसकेकाले २ जना नर्स तालिम लिएर फर्केपछि तत्काल सुरु हुने उनले बताए । तर, निःशुल्क डायलाइसिस सेवाको लागि ५ मेसिन आवश्यक पर्नेमा ३ मेसिनमात्र भएको र थप २ मेसिन आवश्यक हुने उनको भनाइ थियो ।

अस्पतालले ट्रमा शाखा पनि सञ्चालन गर्ने योजना बताउँदैं उनले यसका लागि सरकारको सहयोग आवश्यक रहेको बताए । दमौलीबाट पूर्व लागेपछि ५० किमी सडक आसपासमा सरकारी अस्पताल नभएको स्मरण गराउँदै तनहुँको सत्र सय क्षेत्रमा ट्रमा अस्पताल बनाउँदा धेरैको ज्यान जोगाउन सकिने बताए ।

‘वडा कार्यालय भवन फुटाएर, गाउँपालिकाको सभा हललाई वार्ड बनाएर, स्वास्थ्य चौकी भवनलाई मर्ज गरेर ओपीडी बनाएर, इलाका वन कार्यालयको भवनलाई ल्याब बनाएर, जिससबाट अलिकति बजेट ल्याएर र स्वास्थ्य विभागबाट ३ वटा डायलाइसिस मेसिन मागेर कुनै गाउँपालिकाको आफ्नै स्रोतमा कुनै छात्रवृत्ति करारका डाक्टर जम्मा पारेर अस्पताल सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

उनले अस्पताल सञ्चालन गर्दा जटिलता भएको स्मरण गरे । सरकारी रेटभन्दा कम शुल्कमा सेवा दिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ