काठमाडौं—कास्कीस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरले सन् २०२२/२३ मा १ अर्ब ३६ करोड (अपरिष्कृत) रुपैयाँ बढीको कारोबार गरेको छ । कलेजले सन् २०२१/२२ मा १ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको थियो ।
एमबीबीएस, बिडिएसलगायतका चिकित्सा शिक्षाका कार्यक्रम साथै स्वास्थ्य सेवा दिने शिक्षण अस्पताल संचालन गरिरहेको गण्डकी मेडिकल कलेजको कारोबारमा गत वर्षभन्दा यस वर्ष झण्डै २१ करोड रुपैयाँ बढेको हो ।
सन् २०२०÷२१ मा कलेजले १ अर्बको कारोबार गरेको थियो भने सन् २०१९/२० मा ९७ करोड रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००७ मा स्थापना भएको यो कलेज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त कलेज हो । कलेजले एमबीबीएस, बिडिएसका साथै बिएस्सी नर्सिङ, बिएनएस, एमआईटी, बीएस्सी एमएलटी, बीपीएच, बी फर्माका शैक्षिक कार्यक्रम चलाउँछ ।