२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ?

विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ?


काठमाडौं—सरकारले रिक्त रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्य उपकुलपति सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो ।

समितिमा योजना आयोगका शिक्षा, स्वास्थ्य हेर्ने सदस्य डा. उषा झा र अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल रहेका छन् भने सदस्य सचिवका रुपमा स्वास्थ्य सचिव खगराज बराल रहेका छन् ।

सो कमिटीले ६ माघमा सूचना प्रकाशन गरी योग्यता पुगेका इच्छुक उम्मेदवारले ५ दिन भित्र आफ्नो शैक्षिक तथा व्यक्तिगत विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सचिव खगराज बरालको इमेलमा पठाउन भनेको थियो ।

सरकारले विवरण पठाउन दिएको म्याद गत शुक्रबार सकिएको छ । मन्त्रालय स्रोतका अनुसार १६ जना उम्मेदवारले प्रतिष्ठानको उपकुलपतिका लागि निवेदन दिएका छन् । जसमा ८ जना हाल प्रतिष्ठानमै कार्यरत रहेका छन् भने बाँकी प्रतिष्ठान बाहिरका रहेका छन् । समितिले अति गोप्य रुपमा परेका आवेदनमाथि छलफल गरिरहेको स्वास्थ्य मन्त्रालय स्रोतको दावी छ ।

आवेदन आइसकेपछि मंगलबार समितिको बैठक बसेको थियो । सो बैठकले छनौटका आधार तय गरेको एक सदस्यले बताए । केही दिन भित्रै पुनः बैठक बसी कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष आवेदन परेकामध्ये तीन जनाको नाम सिफारिस गर्ने तयारी रहेको उनको दावी छ ।

देशकै ठूलो प्रतिष्ठानका उपकुलपतिका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छुट्टा—छुट्टै उम्मेदवार रहेका कारण उपकुलपति छान्नका लागि सर्च कमिटीलाई गाह्रो परिरहेको छ । मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार अहिले मुख्य प्रतिस्पर्धीको रुपमा प्रा.डा. गेहनाथ बराल, प्रा.डा. ज्ञानेन्द्र गिरी र प्रा.डा. गुरुप्रसाद खनाल रहेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेसले भने प्रा.डा. नारायणविक्रम थापालाई अगाडि सारेको छ ।

प्रधानमन्त्रीका उम्मेदवार प्रा.डा. बराल

विपी प्रतिष्ठानको उपकुलपतिका लागि प्रधानन्त्रीका क्यान्डिडेटको रुपमा कोशी अस्पतालमा दरबन्दी भएर हाल बेतलवी विदामा बसेका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गेहनाथ बराल रहेका छन् । हाल उनी झापास्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजका प्रिन्सिपल हुन् । डा. वराललाई प्रधानमन्त्री ओली यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को भिसी बनाउन पनि लागेका थिए । तर, सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष तथा तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको जोडवलमा प्रा.डा. डिएन साह उपकुलपति भएका थिए । प्रधानमन्त्री ओलीले साहलाई उपकुलपति नबनाउन ६ महिनाभन्दा बढी निर्णय अड्काएर राखेका थिए ।

पार्टी अध्यक्षका उम्मेदवार प्रा.डा. खनाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विपीको भिसीमा आफ्नो मान्छे हुनुपर्ने दावी गरिरहेका छन् । मन्त्रालय स्रोतकाअनुसार प्रचण्डले वर्तमान कार्यवाहक उपकुलपतिको समेत जिम्मेवारी सम्हालिरहेका रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल रहेका छन् । प्रा.डा. खनाल निवर्तमान उपकुलपति राजकुमार रौनियार घुससहित पक्राउ परेपछि कार्यवाहक उपकुलपतिका रुपमा कार्यरत छन् ।

स्वास्थ्यमन्त्रीका उम्मेदवार प्रा.डा. गिरी

लामो समय विराटनगरमा बसेर काम गरेका प्रा.डा. ज्ञानेन्द्र गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त खनालका प्रमुख रोजाइका उम्मेदवार हुन् । मुटु रोग विशेषज्ञ डा. गिरी लामो समय कोसी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट भएर काम गरेका थिए । सरकारी जागिरबाट अवकास भएपछि उनी नोवेल मेडिकल कलेजको संस्थापक अध्यक्ष थिए । नोवेलमा सेयरधनीबीच विवाद भएपछि उनी राजधानीको विएण्डवी अस्पतालमा आएर काम गरेका थिए । विराटनगरमा विराट मेडिकल कलेज स्थापना भएपछि पुनः उनी त्यहाँ गएर मेडिसिन डिपार्टमेन्ट चिफ भएर काम गरिरहेका छन् ।

प्रतिपक्षका उम्मेदवार प्रा.डा. थापा

कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नाममा बनेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व आफूले पाउनुपर्ने भन्दैं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि अडान राखिरहेको छ । उसले मेडिकल काउन्सिलका वर्तमान उपाध्यक्ष प्रा.डा. नारायणविक्रम थापालाई अगाडि सारेको छ । प्रा.डा. थापा प्रतिष्ठानको पहिलो ब्याचका विद्यार्थी पनि हुन् ।

यी हुन् अन्य दावेदार

मुख्य दावेदार यी ४ जना देखिएता पनि भिसी हुनका लागि प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. वीएन यादव, प्रा.डा. पारसकुमार पोखरेल, प्रा.डा. सन्जीवकुमार शर्मा, प्रा.डा. सीएस अग्रवाल, प्रा.डा. गजेन्द्रप्रसाद रौनियार, प्रा.डा. बद्रीप्रदास बडु, प्रा.डा. आरपी बिच्छा, प्रा.डा. अनिल मिश्र डा हरिशचन्द्र उप्रेती रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

सिफारिस को पर्लान ?

प्रधानमन्त्री, पार्टी अध्यक्ष र स्वास्थ्यमन्त्रीका आ—आफ्नै तीन फरक उम्मेदवार भएका कारण उपकुलपति सिफारिस समितिले तीन जना कसको नाम पठाउँछ भन्न गाह्रो छ । यसअघिका विभिन्न निकायका नियुक्तिका लागि बनाइएका सर्च कमिटीले सिफारिस गर्दा एक जना दह्रो उम्मेदवार र अरु प्रक्रियाका पठाउने चलन नौलो होइन् ।

न्याम्सको उपकुलपतिका लागि तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आफूले इच्छाइएका प्रा.डा. डिएन साहको नामसहित दुई जना दुई जना चिकित्सकको नाम पठाएका थिए । उनले प्रबल दाबेदार मानिएका बलिया उम्मेदवारलाई पहिलो चरणबाटै आउट गरिदिएका थिए ।

त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षका लागि बनेको छनोट समितिले पनि एक मात्र बलिया उम्मेदवार मानिएका प्रा.डा. श्रीकृष्ण गिरीसहित अन्य दुई चिकित्सकको नाम प्रधानमन्त्री कहाँ सिफारिस गरेको थियो । यस पटक शक्ति सन्तुलनका लागि स्वास्थ्यमन्त्री संयोजक रहेको सो सर्च कमिटीले तिनै जना प्रमुख दावेदारको नाम पठाउला वा एक जना प्रमुख दावेदारसँग अन्य दुई जना प्रक्रियाका लागि मात्रै प्रधानमन्त्री समक्ष सिफारिस गर्ला त्यो त समयले नै बताउँला ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ