२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशछोराको सम्झनामा अस्पताल बनाउन जग्गादान

छोराको सम्झनामा अस्पताल बनाउन जग्गादान


जुम्ला—जुम्लाको तातोपानी गाउँपालिका–६ हियाँखोलाका ६० वर्षीया विष्णुदेवी रोकायाले अस्पताल बनाउन जग्गादान गरेकी हुन् । द्वन्द्वकालमा छोरा छक्क रोकाया नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भूमिगत थिए ।

द्वन्द्वकालमा उनले बम विस्फोट ज्यान गुमाए । उनका अरु छोराछोरी छैनन् । युद्धमा ज्यान गुमाएका तिनै एक्ला छोराको सम्झनामा रोकायाले अस्पतालका लागि जग्गा दान गरेकी हुन् । ‘जग्गा भएर के गर्नु ?,’ उनले भनिन्, ‘छोराको सम्झनामा ३८ लाख ८२ हजार ६ सय बराबरको जग्गादान तातोपानी गाउँपालिकालाई अस्पताल बनाउन दान गरेकी हुँ ।’

उनलाई आफूले छोराको सम्झनामा दान गरेको जग्गामा छिट्टै अस्पताल बनेको हेर्ने धोको छ । ‘आफ्नो आँखाले अस्पताल निर्माण भएर जनताले उपचार पाएको हेर्न पाए हुन्थ्यो,’ उनले भनिन्, ‘तर गाउँपालिकाले अस्पताल बनाउन ढिलो गरिरहेको छ ।’

अस्पतालको सुविधा नभएकै कारण २०५३÷५४ तिर दुःख गरेर हुर्काइ सकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै गुमाउनु परेको उनी बताउँछन् । उनीहरुको मृत्युले पारेको पीडा नसकिँदै वि.सं. २०५८ सालमा १८ वर्षका छोरा छक्क रोकायाको पनि निधन भयो । रोकायाले श्रीमान् नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई पाँच बेडको अस्पताल निमार्णका लागि जग्गादान गरेकी हुन् । उनले भनिन्, ‘जग्गादान गरेको पाँच वर्ष भइसक्यो । अहिलेसम्म अस्पताल निर्माण भएको छैन ।’

छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेष गरी उसकै योगदानको स्मरणमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेकी थिइन् । तर, पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर अस्पताल बनाउन जग्गादान गरेको उनले सुनाइन् । छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायाको मृत्यु भएको थियो ।

एकमाथि अर्को पीडा सहेर एकल जीवन बिताइरहेकी रोकायालाई आफ्नो पीडाभन्दा पनि समाजमा देखिने गरेका समस्याले बढी सताउने गरेको गरेको छ । ‘सानो छँदै छोराछोरी मरे । ती मरेका लालाबालाबाट लागेको पीडा नमेटिदै ठूलो छोरा बित्यो,’ उनले भनिन्, ‘पछि आएर आफ्नो जीवनसंगीले नै छोडेर गए । १३ वर्षदेखि एकल जीवन बिताइरहेकी छु ।’

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले अस्पताल निर्माणका लागि साढे १० करोड बजेटको टेण्डार आह्रान भएको छ । ‘अस्पताल निर्माणको लागि टेण्डर आह्रानको काम अगाडि बढेको छ । गाउँपालिकाले उहाँको योगदानलाई उचित कदर गर्नेछ,’ उनले भने, ‘जग्गामाथि अब सुविधासम्पन्न अस्पताल निर्माण गरिने र रोकाया दम्पती र छोरा छक्कसहितको इतिहास रहने गरी योगदानको कदर गरिनेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ