२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीमा दुई वटा एम्बुलेन्स संचालनमा

पातारासीमा दुई वटा एम्बुलेन्स संचालनमा


जुम्ला— जुम्लाको पातारासी गाउँपालिकाले दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । भौगोलिक रुपमा सदरमुकामदेखि निकै टाढा रहेको पातारासी गाउँपालिकाले स्थानीय नागरिकको माग र कठिनाइलाई मध्यनजर गर्दै दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

पहिलाको एम्बुलेन्सले पालिकाभरीका नागरिकलाई सेवा दिन नसकेको, पटक—पटक बिग्रिएर नागरिकले सास्ती पाउन थालेपछि वडाको बजेट, अध्यक्ष, उपाध्यक्ष कोषको बजेट र पालिकाको थप गरेर २७ लाख रुपैयाँमा खरिद गरी नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याइएको वडाध्यक्ष दत्तबहादुर बुढाले बताए ।

भारतीय राजदुतावासले अनुदानमा दिएको पालिकाको पहिला एम्बुलेन्स पटक—पटक बिग्रिने गरेको छ । यद्यपी अहिले दुवै एम्बुलेन्स सञ्चालनमा छन् ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहरालगायतको उपस्थितिमा एम्बुलेन्सको विधिवत सेवा सोमबारबाट सुचारु भएको हो । अब पातारासीका बिरामीले भनेकै बेला एम्बुलेन्स सेवा पाउने छन् ।

‘भौगोलिक रुपमा विकट पातारासीका नागरिकले अब सहजै सेवा पाउनेछन् । एउटै एम्बुलेन्सले सबैतिर धान्न सकेन् । अब दुई वटा एम्बुलेन्स सञ्चालनपछि सुत्केरीलगायतका जटिल विरामीलाई तत्काल सदरमुकाम लैजान सहज हुनेछ,’ अध्यक्ष बोहरा भन्छन्, ‘स्थानीय सरकारले जनताको चाहनानुसार यस्तै आधारभूत विकास गर्न आवश्यक छ ।’

डिल्लीचौर स्वास्थ्य चौकीको मातहतमा रहेर एम्बुलेन्स सञ्चालन हुनेछ । अब उप्रान्त गाह्रो पर्दा प्रतिष्ठानका एम्बुलेन्स गुहार्नुपर्ने, लामो समय पर्खिनुपर्ने, महंगो भाडा तिर्नुपर्ने बाध्यताबाट पातारासीका नागरिकले छुटकारा पाउने वडाध्यक्ष बुढाको भनाइ छ ।

जुम्लाका आठै स्थानीय तहका आफ्नै एम्बुलेन्स सेवा सञ्चालन भएका छन् । यद्यपी वडाको लगानीमा एम्बुलेन्स सेवा संचालन गर्नेमा पातारासी गाउँपालिका वडा नंं. ५ जिल्लाकै पहिलो बनेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ