२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश१० महिनादेखि ५ जना स्वास्थ्यकर्मीले पाएनन् पारिश्रमिक

१० महिनादेखि ५ जना स्वास्थ्यकर्मीले पाएनन् पारिश्रमिक


जुम्ला—डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य सेवाका कर्मचारीले ०८० साउन महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरुमा भ्याक्सिनेटरको रूपमा काम गरेका पाँच जना कर्मचारीले पारिश्रमिक नपाएका हुन् ।

१० महिनादेखि बिना पारिश्रमिक काममा खटिएकोबारे नगरपालिकालाई ध्यानाकर्षण गराएको पहाडा स्वास्थ्य चौकीमा कार्यरत लक्ष्मीचन्द्र केसीले बताए । ‘पारिश्रमिक नपाएको १० महिना भयो, अहिलेसम्म पाएका छैनौं,’ उनले भने । आफूलगायतका अन्य कर्मचारीहरूलाई बिना पारिश्रमिक काम गर्न समस्या भएको उनले बताए ।

नगरपालिकाले भ्याक्सिनेटरलाई महिनाको ४ हजार ३ सय रुपैयाँ पारिश्रमिक दिने गरी सम्झौता गरेको थियो । सम्झौता गरेको महिना पारिश्रमिक निरन्तर आइरहेको र म्याद थप गरेको मितिदेखि भने पारिश्रमिक नपाएको उनको भनाइ छ ।

पारिश्रमिक नपाएपछि अहिले उनीहरु जागिर छोड्ने मनस्थितिमा पुगेका छन् । जागिर छोडेर कृषि पेशा गरेर बस्ने समेत केसीले बताए ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरलाले अबको केही दिनमा सबैको पारिश्रमिक एकैपटक उपलब्ध गराउने बताए । ‘पहिला विविध समस्याका कारण भ्याक्सिनेटरको पारिश्रमिक रोकिएको थियो,’ उनले भने, ‘अब भने स्वास्थ्य शाखासँग सबै डाटा मागेर पारिश्रमिक उपलब्ध गराउँछौं ।’

नगरपालिकाले फाजिलमा रहेका कर्मचारीलाई विभिन्न सामुदायिक स्वास्थ्य इकाईमा काजमा खटाएपनि ०८० साउन यताको तलब बजेट नभएको भन्दै रोकेको थियो । तलब बजेट रोकेसँगै अहिले नगरपालिकाका अधिकांश स्थायी र करार कर्मचारीले समेत पारिश्रमिक पाएका छैनन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ