२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिने


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । अमेरिका–नेपाल मेडिकल फाउण्डेसनको एक करोड २३ लाख रुपैयाँ सहयोगमा प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिने भएको हो ।

प्रतिष्ठानमा ब्लड बैंक नहुँदा शल्यक्रियाका लागि समस्या हुने गरेको थियो । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले अमेरिका–नेपाल मेडिकल फाउण्डेसनले केही समयअघि सिकागो सहरमा आयोजना गरेको तीन दिवसीय सभामा दुर्गमको स्वास्थ्य सेवाका चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

उक्त प्रस्तुतीकरणमा उल्लेख गरिएका कर्णालीका स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै फाउण्डेसनको लगानीमा ब्लड बैंक स्थापना हुने उपकुलपति डा. रावलले जानकारी दिए ।

उपकुलपति डा. रावललाई फाउण्डेसनको २८ औं सभाका अवसरमा ब्लड बैंक स्थापना गर्न सहयोग रकम प्रदान गरिएको हो । सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र फाउण्डेसनबीच भविष्यमा हुन सक्ने सहकार्यका विषयमा पनि छलफल भएको डा. रावलले जानकारी दिए ।

फाउण्डेसनको सभामा भाग लिन डा. रावलसहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीलगायत नेपाली चिकित्सकहरु अमेरिका पुगेका थिए ।

फाउण्डेसनले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग र सहकार्य गर्दै आइरहेको छ । प्रतिष्ठान स्थापनाको १३ वर्षसम्म पनि ब्लड बैंक स्थापना नहुँदा बिरामीलाई रगत आवश्यक पर्दा नेपाली सेना, सशस्त्र प्रहरी गुहार्नुपर्ने बाध्यता छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ