२०८२ वैशाख ३१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्राविधिक शिक्षालय जुम्लामा औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ हुने

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ हुने


जुम्ला– नेपालकै पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो बर्षदेखि औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले अनुमति दिएसँगै डिप्लोमा इन फार्मेसी पढाइ सुरु हुने भएको हो ।

डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महंगो तिरेर पढ्न बाध्य थिए । कर्णाली प्राविधिक शिक्षालयका प्रमुख आशा कुमारी श्रेष्ठ डिप्लोमा इन फार्मेसी पढ्न तराइका जिल्लामा जानु पर्ने बाध्यता टरेको बताइन् । उनले भनिन्, ‘अब सस्तो, सुलभ र गुणस्तरीय रुपमा जुम्लामै औषधि विज्ञानको (डिप्लोमा इन फार्मेसी) पठनपाठन हुने छ । यो समग्र कर्णालीको लागि निकै सुखद पक्ष हो ।’

कर्णाली प्राविधिक शिक्षालय २०३७ सालमा स्थापना भएको थियो । टेस्टपास (१० कक्षा) एसएलसी देखि डिप्लोमा तह सम्मको शैक्षिक कार्यक्रम चलिरहेको छ । शिक्षालय प्रमुख श्रेष्ठले भनिन्, ‘तीन बर्षमा ९५ हजार ६ सय ६० रुपैयाँसम्म खर्च हुने देखिन्छ । यो कर्णालीका विद्यार्थीका लागि निकै सस्तो शिक्षा हुनेछ ।’

डिप्लोमा इन फार्मेसीका लागि ४० वटा कोटा निर्धारण गरिएको छ । जसमध्ये जुम्लाको लागि ४ जना, कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट २÷२ जना हुनेछन् । ४ जनाले छात्रवृत्तिमा शिक्षा आर्जन गर्न पाउनेछन् । १४ सिट समानुपातिक ढंगबाट भर्ना गरिने छ ।

डिप्लोमा इन फार्मेसी विषयको पढाई हुने भएकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क गर्न शिक्षालयले आग्रह गरेको छ । प्राविधिक शिक्षालयले कृषि, निर्माण, अनमी र सिएमए तथा डिल्पोमा तह अन्तर्गत ओभरसियर, आईएस्सीएजी र फरेस्ट्री कार्यक्रम सञ्चालनमा छन् ।

लाखौँ रकम खर्चेर महंगा कलेजमा गएर प्राविधिक विषय अध्ययन गर्नबाट विद्यार्थीलाई राहत मिल्यो, शिक्षालय प्रमुख श्रेष्ठले भनिन््, ‘यो प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्योग जस्तै बनेको छ । यहाँबाट उत्पादित जनशक्ति देशभर छरिएर सेवा गरिरहेका छन् ।’

कर्णाली प्राविधिक शिक्षालय शैक्षिक हब मात्र बनिरहेको छैन् । सदरमुकाम खलंगा पुग्ने जोसुकैले एकपटक प्राविधिक शिक्षालयको अवलोकन गर्ने गरेका छन् । यसले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पर्याएको छ । कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालन हुन थालेको डिप्लोमा इन फार्मेसीको पठनपाठन निकै अनुशासित र व्यवस्थित बनाउँदै लैजाने कर्णाली प्राविधिक शिक्षालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ