२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा कोभिड–१९ प्रयोगशालाको क्षमताको १७ प्रतिशत मात्रै कोरोना परीक्षण

सुदूरपश्चिममा कोभिड–१९ प्रयोगशालाको क्षमताको १७ प्रतिशत मात्रै कोरोना परीक्षण

कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८२ पुग्यो


धनगढी— सुदूरपश्चिममा एउटा मात्रै पीसीआर मेसिन रहँदा सेती प्रादेशिक अस्पतालले दैनिक ८ सयको हाराहारीमा कोरोना परीक्षण गर्ने गरेको थियो । तर, अहिले पहाडी जिल्लामा ४ पीसीआर मेसिन थप भएपछि सेती अस्पतालबाट भने दैनिक २ सयको हाराहारीमा मात्रै कोरोना परीक्षण भइरहेको छ ।

कैलालीमा २ वटा पीसीआर मेसिन राखिएका छन् । तर, नमुना नै संकलन नहुँदा एउटै मेसिनबाट काम चल्ने देखिएपछि अर्काे मेसिन भने थन्क्याइएको छ । अहिले कैलाली र कञ्चनपुरका नमुना मात्रै आउने गरेकाले २ सयको हाराहारीमा मात्रै नमुना परीक्षण भइरहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय तहले संकलन गरी पठाएका सबै नमुना परीक्षण गरेकै छौं ।’

हालसालै जडान गरिएका बैतडी र बझाङका दैनिक हजार–हजार परीक्षण क्षमताका नयाँ मेसिनबाट पर्याप्त परीक्षण भएको देखिदैन् । अहिले बैतडी र बझाङमा १ सयको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ ।

बैतडीमा शुक्रबार मात्रै ९१ जनाको नमुना परीक्षण भएको थियो । कोरोनाको लक्षण देखिएका व्यक्ति जिल्लामा कमै भएकाले शंकास्पदको मात्रै परीक्षण भइरहेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. वसन्तराज जोशीले बताए ।

सुदूरपश्चिममा दैनिक ५ हजार नमुना परीक्षण गर्ने सक्ने क्षमताका ५ वटा पीसीआर मेसिन जडान गरिएपनि अहिले दैनिक साढे ८ सयको हाराहारीमा मात्रै कोरोना परीक्षण भइरहेको हो । सुदूरपश्चिमको धनगढी, डडेल्धुरा, बैतडी, बझाङ र डोटीमा दैनिक एक–एक हजार नमुना परीक्षण गर्न सकिने उपकरण जडान गरिएपनि परीक्षण भने सुस्त गतिमा भइरहेको छ ।

संक्रमितको संख्या ६ हजार ९ सय ८२

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८२ पुगेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकाअनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार ९ सय ८२ जनामा कोरोना पुष्टि भएको हो ।

सबैभन्दा बढी कैलालीका १ हजार ७ सय ४७, डोटीका ९ सय ४७, अछामका ९ सय २४, कञ्चनपुरका ७ सय २९, बाजुराका ४ सय ५१, बझाङका ३ सय ८९, बैतडीका ३ सय २९, डडेल्धुराका ३ सय २१ र दार्चुलाका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ८ सय ८३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले हालसम्म प्रदेशमा एक हजार ८५ जना सक्रिय संक्रमित रहेको जनाएको छ । जसमा सबैभन्दा बढी कैलालीमा ५ सय ३१ जना, अछाममा १ सय ३०, डोटीमा १ सय ३८, बझाङमा १ सय १३, बैतडीमा ८० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, दार्चुलामा ३५ जना, कञ्चनपुरमा ४७ जना र सबैभन्दा कम सक्रिय संक्रमितका डडेल्धुरामा ११ जना रहेको मन्त्रालयले जनाएको छ । बाजुरा जिल्लामा भने सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । शनिबार मात्रै सुदूरपश्चिम प्रदेशमा चार कोरोना संक्रमितकोे मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ