२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सलाई नियुक्ति-पत्र नदिएरै काम लगाउँछ नेपाल मेडिसिटी अस्पताल

नर्सलाई नियुक्ति-पत्र नदिएरै काम लगाउँछ नेपाल मेडिसिटी अस्पताल


काठमाडौं–ललितपुरस्थित अन्तर्राष्ट्रियस्तरको भनिएको नेपाल मेडिसिटी अस्पतालले काममा लगाएका नर्सलाई नियुक्ति—पत्र नदिने गरेको पाइएको छ । दिनरात नभनी बिरामीको सेवामा खटिने नर्सलाई मेडिसिटी अस्पतालले नियुक्ति—पत्र बिनै काममा लगाएको पाइएको हो ।

‘नियुक्ति दिनुको साटो एउटा सम्झौता—पत्रमा हस्ताक्षर गराउँछन्, त्यसपछि त्यो कागज अस्पतालले नै राख्छ,’ मेडिसिटी अस्पतालमा कार्यरत एक नर्स भन्छिन्, ‘सुरुमा तलब तोकिन्छ, त्यमा अन्य भत्ताहरु समेत खुलाइन्छ । हस्ताक्षर गराउन लगाइन्छ ।’ ती नर्सकाअनुसार नर्सिङ स्टाफलाई नियुक्त—पत्र भने दिइदैंन र आफूले हस्ताक्षर गरेको सम्झौता पत्रको फोटो खिच्छुभन्दा पनि दिइदैंन् ।

नर्सहरु आफूले काम गरेको नियुक्ति—पत्र पाउनुपर्ने माग राख्दै आएका छन् । मेडिसिटी अस्पतालका निर्देशक विजय रिमाल भने नर्सहरुलाई नियुक्तिपत्र दिइएको दाबी गर्छन् । ‘हामीले सबै नर्सलाई नियुक्ति—पत्र दिएका छौं,’ उनले भने, ‘कसैको छुटेको हुनसक्छ, प्रशासनबाट लिन सक्नुहुन्छ ।’ तर, प्रशासनमा नियुक्ति—पत्रको कुरा गर्दा नियुक्ति—पत्र दिन नमिल्ने भनेर फर्काइएको नर्सहरुले बताउँछन् ।

यस्तै मेडिसिटी अस्पतालमा नर्सको तलब पनि न्यून छ । आफूलाई अन्तर्राष्ट्रियस्तरको भन्ने यो अस्पतालले लाखौं खर्चेर नर्सिङ अध्ययन गरेका नर्सलाई आधारभूत तलब १५ हजार दिएर काममा लगाउँदै आएको छ । ‘तलब पनि कम दिने र नियुक्तिपत्र पनि नदिनु श्रम शोषण नै हो,’ अर्की एक नर्सले हेल्थआवाजसँग भनिन्, ‘तर, के गर्नु बाध्यता छ ।’

नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई नर्सहरु नै नियुक्ति पत्र नलिई काम गर्न जाने कारण यस्तो अवस्था आएको बताउँछिन् । ‘हाम्रा बहिनीहरु नै नियुक्ति—पत्र नदिएपनि काम गर्न जानुहुन्छ,’ उनले भनिन्, ‘त्यसैले यो समस्या आएको हो ।’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डे नियुक्ति—पत्र नदिई काममा लगाउने अस्पताललाई श्रम कार्यलयले अनुगमन गरी कारवाही गर्ने बताउँछन् । ‘कुनै पनि प्रयोजनमा श्रमिकलाई काममा लगाइसकेपछि रोजगारदाताले नियुक्ति—पत्र दिनुपर्छ,’ उनले भने, ‘यदि कसैले नियुक्ति—पत्र नपाएर आफू अन्यायमा परेको छु भन्ने लागेमा श्रम कार्यालयमा गएर उजुरी दिन सक्नुहुन्छ ।’ उनले श्रम कार्यालयले गुनासो सुनुवाई गरी नियुक्ति—पत्र नदिई काम गराउने रोजगारदातालाई अनुगमन गरी कारवाही गर्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ