२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा डा. अर्याल

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा डा. अर्याल


धनगढी—सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. गुणराज अवस्थीलाई जिम्मेवारीबाट हटाइएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विष्टले सेती प्रादेशिक अस्पतालका रेडियोलोजिष्ट डा. निरज अर्याललाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए ।

मंगलबार सामाजिक विकास मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट डा. अवस्थीलाई आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी हटाउँदै डा. अर्याललाई नियुक्त गरिएको हो । डा. अवस्थी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख हुन् ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ११ औँ तहको दरबन्दी भएपनि सामाजिक विकास मन्त्रालयले भने दोहोरो जिम्मेवारीको कारण देखाउँदै डा. अवस्थीलाई हटाएको हो । उनको ठाउँमा १० औँ तहका डा. अर्याललाई निमित्त प्रमुखमा नियुक्त गरिएको छ।

मिलेमतोमा महंगो मूल्यमा अल्ट्रासाउण्ड उपकरण खरिद गरेको भन्दै डा. अवस्थी विवादमा तानिएका थिए । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको जनाएको छ ।

महालेखा परिक्षकको प्रतिवेदनले ऐन कानुन विपरीत कर्मचारीहरुलाई न्यूनतम २० हजारदेखि एक करोड ७६ लाखसम्म पेश्की दिएर कार्यक्रम सञ्चालन गरेको पाइएको उल्लेख गरिएको थियो । ‘न्यूनतम २० हजारदेखि एक करोड ७६ लाखसम्म एकै व्यक्तिलाई पेस्की दिएर कार्यक्रम सञ्चालन गराएको अवस्था छ,’ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘कार्यालयले उपलब्ध गराएको विवरणअनुसार १७ व्यक्तिलाई ८ करोड ९१ लाख ५१ हजार पेस्की दिएकोमा पूरै रकम खर्च हुन नसकी ४९ लाख ८२ हजार रकम फिर्ता भएको छ । पेस्कीमाथि पेस्की दिई वर्षको अन्तमा फाँटवारी पेश गरी पेस्की फछ्र्यौट गरेको छ ।’

पेस्की लिएर लामो समयसम्म कार्यक्रम नगरी व्यक्तिको खातामा रकम रहने र पछि कार्यक्रम सञ्चालन गर्ने तथा आर्थिक वर्षको अन्त्यमा रकम फिर्ता गर्ने प्रवृतिले सरकारी रकमबाट कर्मचारीले लाभ लिने प्रवृत्तिमा नियन्त्रण गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

डा. अवस्थी कोरोना भाइरसको महामारीका नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदमा समेत मिलोमतोमा टेण्डर पारेको भन्दै विवादमा तानिएका थिए । यद्यपी, डा. अवस्थीले ती आरोपहरुमा सत्यता नभएको दावी गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ