२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणमुक्तको अनुभव : ‘कोरोना जिते पनि शरीर कमजोर’

कोरोना संक्रमणमुक्तको अनुभव : ‘कोरोना जिते पनि शरीर कमजोर’


धनगढी—बाँकेको कोहलपुर नगरपालिका—५ का ४५ वर्षीय रामबहादुर मल्ललाई ७ असोजमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भयो । नेपालगंज मेडिकल कलेजमा कार्यरत उनी झण्डै २१ दिनको होम आइसोलेसनपछि कोरोना संक्रमणमुक्त भए ।

कोरोना संक्रमणमुक्त भएको डेढ महिनासम्म पनि उनको शरीर पहिले अवस्थामा फर्किन सकेको छैन । उनले भने, ‘पहिलेको अवस्थामा फर्किन नसकेको उनको भनाइ छ । अझै कमजोर भएजस्तो महसुस भइरहेको छ ।’ उनलाई शारीरिक रूपमा केही बल प¥यो भने असहज हुन्छ । त्यसबाहेक हाँच्छयु आउने, बेला—बेला घाँटी खसखस हुने भएकाले फेरि संक्रमण हुने हो कि भन्ने डर भएको मल्लले बताए ।

पहिलेकै अवस्थामा फर्किन भने केही समय लाग्ने अनुभव उनको छ । ‘संक्रमणमुक्त मात्र नभई कोरोनाले लामो समय कमजोर बनाउने रहेछ,’ उनले अनुभव सुनाए ।

कंचनपुरको भीमदत्त नगरपालिका—४ का ४३ वर्षीय सुरेश धामीलाई ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने समस्या देखियो । झण्डै १ हप्तापछि सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २४ असोजमा कोरोना संक्रमण पुष्टि भयो ।

२४ असोजमा अस्पताल भर्ना भएका उनी १७ दिन अस्पतालको आइसोलेसनको उपचारपछि महिनाको १३ कार्तिकमा डिस्चार्ज भएका थिए । संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएपनि स्वास्थ्य अवस्था सामान्य हुन सकेको छैन ।

‘रिपोर्ट नेगेटिभ आएपछि म अस्पतालबाट बाहिरिएको हुँ । तर, शरीर अझै दह्रो बनेको छैन,’ उनले भने । कोरोनाबाट संक्रमित भएसँगै उनलाई निमोनिया भएको थियो । अस्पतालबाट घर फर्किएपनि थापाका दिन अझै सामान्य बन्न सकेका छैनन् । ‘मनले गर्न चाहेको कुरा पनि गर्न सकिन्न कि भन्ने हुँदो रहेछ,’ उनले भने, ‘सायद मलाई निमोनिया भएकाले पनि बेला—बेला बोल्दाबोल्दै स्वर हराउने, केही गाह्रो काम गर्दा रिंगटा लाग्ने हुन्छ, सबैलाई यही समस्या नहुन सक्छ । शरीरलाई दह्रो बनाउन पोषणयुक्त खाना खाए पनि पहिलेजस्तो अवस्थामा फर्किन सकेको छैन ।’ उनले पहिलेकै अवस्थामा फर्किन अझै केही समय लाग्ने देखेका छन् । फिजिकल रूपमा सबै ठीक भएपनि तर ज्यान सशक्त बन्न नसकेको उनको अनुभव छ ।

धनगढी उप–महानगरपालिका—४ का आयुर्वेद चिकित्सक डा. चेतराज जोशीलाई २८ असोजमा कोरोना संक्रमण पुष्टि भयो । समाजिक विकास मन्त्रालयमा कार्यरत उनी ६ दिनको होम आइसोलेसनपछि कोरोना संक्रमणमुक्त भए । तर, जोशी पनि पहिलेकै जस्तै स्वास्थ्य अवस्था सहज हुन सकेको छैन । ‘कोरोना संक्रमणमुक्त भएपनि बेला—बेला श्वास फेर्न केही असहज हुने गरेको छ,’ डा. जोशीले भने ।
कोरोना संक्रमणमुक्त भएपनि प्रशस्त आराम, पोषिलो खानपिन, नियमित शारीरीक ब्यायाम, योग आरधना गर्नाले स्वास्थ्य अवस्थामा सहज हुने डा. जोशीको सुझाव छ ।

कोरोना संक्रमण निको भइसकेपछि शरीरमा भाइरसहरु हुँदैनन् । तापनि, संक्रमण निको भइसकेपछि केहि समयसम्म अल्छी लाग्ने, शरीरमा बल नआउने, शरीर दुःखेको अनुभव हुन सक्ने चिकित्सकहरु बताउँछन् । ‘कति समयसम्म समस्या आउँछ भन्न सकिदैन्,’ सेती अस्पतालका फेमली फिजिसियन डा. जगदीश जोशी भन्छन्, ‘मलाई कोरोना संक्रमण भएको हो भनेर मनोवैज्ञानिक सोचाइ राख्दा केही कमजोरी अनुभव हुन सक्छ । सकारात्क सोचाइ, पोषणयुक्त खाना, नियमित योग, शारीरीक ब्यायामले पनि फरक पार्ने हुनाले त्यसमा पनि ध्यान दिनुपर्छ ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ