२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्वेक्षण भन्छ- गत सेप्टेम्बरमै ३९ लाख नेपालीमा कोरोना संक्रमण

सर्वेक्षण भन्छ- गत सेप्टेम्बरमै ३९ लाख नेपालीमा कोरोना संक्रमण


काठमाडौँ—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको एक सर्वेक्षणले नेपालमा गत सेप्टेम्बरमै ३९ लाख नागरिक कोभिड—१९ संक्रमित भएको पाइएको छ । देशको कुल जनसंख्याको कति प्रतिशत जनता कोरोना संक्रमित भए भनेर जानकारी लिन विश्व स्वास्थ्य संगठनको अगुवाईमा सो सर्वेक्षण गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनले सर्वेक्षणका लागि प्राविधिक टिम परिचालन गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हिमाल, पहाड, तराई तीन क्षेत्रलाई प्रतिनिधित्व गर्ने हिसावले सर्वेक्षण रिपोर्ट तयार पारिएको हो । रगतका माध्यमबाट एन्टीबडी हेरिएको थियो । हाल सो रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मन्त्रालयमा बुझाएको छ । उक्त रिपोर्ट एक दुई दिन भित्र सार्वजनिक गरिने प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

महाशाखाले बताएअनुसार मनाङ र मुस्ताङबाहेक अन्य ७५ जिल्लाबाट करिब ६ हजार ५ सय जनाको नमुना संकलन गरिएको थियो । ६ महिनादेखि माथि उमेर समूहका व्यक्तिहरुको रगतको नमुना लिइएको छ । उक्त नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । प्रयोगशालाले रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई बुझाइसकेको प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले केही दिन भित्र मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्ने बताए । निर्देशक डा. पाण्डेका अनुसार कोभिडबाट प्रदेश नम्बर २ सबैभन्दा बढी प्रभावित भएको सर्वेक्षणले देखाएको छ । प्रदेश २ मा गत सेक्टेम्बरमै २३ प्रतिशत जनता संक्रमित भइसकेको देखिएको छ ।

त्यस्तै बाग्मती प्रदेश दोस्रोमा छ । उक्त प्रदेशको कुल जनसंख्यामा करिब १७ प्रतिशत जनता संक्रमित भएको पाइएको छ । तेस्रोमा प्रदेश नम्बर १, चौथोमा लुम्बिनी प्रदेश छ भने अन्तिममा कर्णाली प्रदेश रहेको छ । यी सबै प्रदेशमा कति प्रतिशत नागरिक संक्रमित भए भन्ने विषय गोप्य राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ