२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालको ४६ दिने आन्दोलनले ५ करोड गुम्यो

वीर अस्पतालको ४६ दिने आन्दोलनले ५ करोड गुम्यो


काठमाडौं-गरिब तथा विपन्न नागरिकको स्वास्थ्य उपचार गर्ने देशकै पुरानो वीर अस्पताल ४६ दिने कर्मचारीको आन्दोलनले थलिएको छ । दैनिक १५ सयदेखि २ हजारसम्म बिरामीले सेवा लिने वीर अस्पताल आन्दोलनका कारण २ देखि ३ सयमा सिमित भएको छ ।

कोभिड भत्ता, औषधि उपचार खर्च, प्रतिष्ठानतर्फका कर्मचारीको तलब भत्ता उपलब्ध नगराएको भन्दै विगत ४६ दिनदेखि अस्पतालका कर्मचारी आन्दोलनमा थिए । यस बीचमा अस्पताललाई ५ करोड रुपैयाँ बढी घाटा भएको पाइएको छ ।

४६ दिने आन्दोलनपछि वीर अस्पतालका कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुदे सहमति भएको छ । उक्त सहमतिपछि कर्मचारीले उपकुलपति, निर्देशक, प्रशासन शाखामा लगाएका सबै ताला शुक्रबारबाट खोलेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिए पनि वीर अस्पतालका स्वास्थ्यकर्मीले पाएका थिएनन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार न्याम्सका पदाधिकारीलाई कार्यशैलीप्रति मन्त्रालय रुष्ट छ । सोही कारण वीरलाई कोभिड अस्पताल बनाएपनि सेवा सुविधा रोकेको थियो । यसको मुख्य मारमा भने नियमित काम गर्ने करार र ज्यालादारीका कर्मचारी परेका छन् ।

अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार वीर अस्पतालको दैनिक आम्दानी १५ लाख रुपैयाँ हुन्छ । तर, यस अवधिमा करिब २ देखि ३ लाख मात्रै दैनिक आमदानी भएको छ । अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीबीच दुई दिन चलेको बार्ता शुक्रबार निष्कर्षमा पुगेपछि सेवा सुचारु भएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यका अनुसार कोभिड बिमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष ०७६÷०७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने, सेवा विस्तार भत्ता आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति भएको छ ।

प्रतिष्ठान सेवातर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने सहमति पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले भने आवश्यक तलब पठाउने र भत्ता दिन नसक्ने जानकारी गराएको बुझिएको छ । ६ हप्ताभित्र सबै सहमति पालना नगरिए पुनः आन्दोलन गर्ने कर्मचारीहरुले बताएका छन् । दुई पक्षबीच सहमति भएसँगै वीर अस्पतालका बन्द सबै सेवा सुचारु भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ