२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामीको मृत्युपछि काठमाडौं मेडिकल कलेजमा तोडफोड

बिरामीको मृत्युपछि काठमाडौं मेडिकल कलेजमा तोडफोड


काठमाडौं– सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा बिरामीको मृत्यु भएपछि तोडफोड भएको छ । स्वयम्भुकी ५८ वर्षीय लक्ष्मी कुँवरको मृत्यु भएपछि उनका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

खानामा अरुची, मुख सुख्खा हुने लगायतका समस्या लिएर आइतबार सामान्य अवस्थामै अस्पताल भर्ना भएकी कुँवरको आइतबार दिउँसो हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले अर्को अस्पतालमा रिफर गर्ने भनेपछि अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

आइतबार नै अस्पताल भर्ना गरिएकी कुँवरको सोमबार स्वास्थ्य थप गम्भीर हुँदै गएपछि अस्पताल प्रशासनले आफन्तलाई जानकारी गराएको थियो । उक्त जानकारीसँगै आफन्तहरुले बिरामीलाई ह्याम्स अस्पताल लैजाने तय गरे । ह्याम्स अस्पताल लैजानका लागि कपडा फेर्ने बेलामा बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिरामीको मृत्यु पछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच सोमबार बेलुकादेखि मंगलबार दिउँसोसम्म वार्ता गर्दा सहमति जुट्न नसकेपछि मृतकका आफन्त अस्पताल तोडफोडमा उत्रिएको महानगरीय प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर जनक ढुंगानाले जानकारी दिए । प्रहरीले अस्पताल तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरी गौशालामा वृत्तमा राखेको छ ।

तोडफोडबाट अस्पतालको अगाडि भागको सीसा, एम्बुलेन्समा क्षति पुगेको छ भने अस्पतालको फार्मेसीमा कार्यरत एक कर्मचारी सामान्य घाइते भएको ढुंगानाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ