काठमाडौं—कोरोना भाइरस कोभिड—१९ विरुद्ध विश्वभर खोपहरु बन्ने क्रममा रहेका छन् । विश्वभर २ सय बढी खोपहरु निर्माणको विभिन्न चरणमा छन् । तर, करिब १३ वटा खोप परीक्षणको अन्तिम चरणमा छन् । यीमध्ये पनि केही प्रयोगमा आउन थालेका छन् ।
फाइजरको खोप अमेरिकामा लगाउन सुरु भइसकेको छ । त्यस्तै, बेलायतमा पनि लगाउन थालिएको छ । हाल फाइजर, मोडर्ना र एस्ट्राजेनेकाको खोप निकै प्रभावकारी मानिएको छ ।
नेपालमा पनि खोप खरिद गर्ने विषयमा व्यापक कामहरु भइरहेका छन् । तर, हाल प्रयोगमा आइसकेको फाइजरको खोप भने नेपालमा अनुपयुक्त हुने देखिएको छ । सरकारले गठन गरेका विभिन्न विज्ञ समूहले फाइजरको खोप नेपालमा हालको अवस्थामा सम्भव नभएको बताएको छ । उक्त खोप माइनस ७० डिग्री सेन्टिग्रेटमा भण्डारण गर्नुपर्छ । यो नेपालमा सम्भव छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकता २ देखि ८ डिग्री सेन्टिग्रेट र दोस्रोमा माइनस २० डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सक्ने खोप मात्रै ल्याउनु पर्छ । फाइजरको सम्भवः नहुने भएपछि मोडर्ना र एस्ट्राजेनेका मध्ये कुनै एक आउने सम्भावना देखिएको छ । यी खोप २ देखि माइनस २० डिग्री सेन्टिग्रेटमा भण्डारण गर्नुपर्छ । त्यो नेपालमा सम्भवः देखिएको छ ।
मन्त्रालयका एक अधिकारीले भने, ‘२ देखि ८ को खोप भए देशैभर संचालन गर्न सकिन्छ ।’ २० डिग्री सेन्टिग्रेटमा भण्डारण गर्नुपरे केही ठाउँमा मात्रै सिमित संख्यामा थप गर्नुपर्छ । सरकारकाअनुसार कुल ७२ प्रतिशत जनतामा खोप लगाइनेछ । तर, पहिलो चरणमा कोभ्याक्स सुविधाअन्तर्गत गरिब देशहरुलाई आएको २० प्रतिशतमध्ये ३ प्रतिशत खोप लगाइने छ ।
पहिलो ३ प्रतिशतमा स्वास्थ्य र सामाजिक क्षेत्र लक्षित समूहका जनसंख्या पर्नेछन् । उक्त संख्या ९ लाख ११ हजार ३ सय ४२ जना हुनेछन् । उनीहरुका लागि दुई डोज खोप लगाउदा १८ लाख ४२ हजार ९ सय १५ डोज खोप आवश्यक परेको छ । उक्त खोप कोभ्याक्समार्फत उपलब्ध हुने भएकाले यसको मुल्य जम्मा ७६ लाख ९१ हजार ७२४ अमेरिकी डलर पर्नेछ । ७२ प्रतिशत जनसंख्यालाई ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार ८८९ रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।