काठमाडौ– सामान्यतया: नर्सिङ स्टाफलाई सेवा प्रवेश गर्दा चौथो तहको कर्मचारीको रुपमा लिइन्छ । उनीहरुको ड्युटी समय बिहानी र सन्ध्याकालीन सिफ्टमा ६/६ घण्टाको हुन्छ भने रात्री ड्युटी १२ घण्टासम्म खट्नुपर्छ । अझ कोरोना संक्रमित रहेको वार्डमा ड्युटी रहेका नर्सले कम्तिमा पनि १२ देखि २४ घण्टासम्म निरन्तर खट्नुपर्छ ।
यति धेरै खट्ने नर्सको आधारभूत तलब ८ हजार ५ सय भन्दा जो कोहीलाई पत्याउन गाह्रो हुन्छ । तर, नेपालमा आफुलाई अन्तराष्ट्रिय स्तरको कर्पोरेट अस्पताल बताउने मेडिसिटी अस्पतालले नर्सलाई आधारभूत तलव ८ हजार ५ सय दिने गरेको पाइएको छ ।
अस्पतालले १५ हजार आधारभूत तलब दिने भनेर दावी गर्दै आएतापनि उसले आधारभूत तलब र काम गरेको दिनको भक्ता समेत जोडी महिनाको १५ हजार दिने गरेको पाइएको हो ।
हेल्थ आवाजलाई प्राप्त मेडिसिटिमा काम गर्ने नर्सको तलबमा ८ हजार ५ सय आधारभूत तलब र ६ हजार ५ सय भत्ता भनेर तोकिएको छ । सोही तलबबाट नेपाल सरकारलाई तिर्नुपर्ने कर कट्टी गरिने समेत करार पत्रमा उल्लेख छ ।
यसअघि हेल्थ आवाजले मेडिसिटी अस्पतालमा नर्सहरुलाई कन्ट्रयाक गराएर सो करार पत्रमा नदिने गरेको समचार प्रकाशित गरेको थियो । सो समचार प्रकाशित भएपछि अस्पतालले केही नर्सहरुलाई बोलाएर कन्ट्रयाक पेपर दिएको थियो । हेल्थ आवाजको सम्पर्कमा आएका त्यहाँका नर्सहरुले पहिले आफूहरुलाई १५ हजार तलव भनेर हस्ताक्षर गर्न लगाएर आफै कन्ट्रयाक पेपर राखेको तर अहिले पत्र पाउँदा तलव ८ हजार ५ सय मात्र तोकेको देखेपछि अचम्म भएको बताए ।
‘हामीलाई १५ हजार तलब हो भनेर अन्तिम पन्नामा हस्ताक्षर गर्न भनियो । बैंकमा तलव आउँथ्यो कहिलेकाहीँ १/२ हजार तलमाथि हुन्थ्यो,’ एक नर्सले भनिन् ‘अहिले कन्ट्रयाक पेपर पाएपछि हेर्दा पो थहा भयो हाम्रो तलब त ८ हजार ५ सय रहेछ, अरु भत्ता, ड्युटी नभएको बेलाको भत्ता काटिँदा तलब तलमाथि भएको रहेछ ।’
यस अघि हेल्थ आवाजले नेपालमा नर्सलाई कम तलव दिएर श्रम शोषण गरेको समाचार प्रकाशित गरेको थियो । आफूलाई अन्तर्राष्ट्रिय स्तरको कर्पोरेट अस्पताल बताउने अर्को नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले पनि आधारभूत तलब ९ हजार ४ सय दिँदै आएको हेल्थ आवाजले खुलासा गरेको थियो ।
नियुक्ति पत्र


याे पनि पढ्नुहाेस्
नर्सलाई नियुक्ति-पत्र नदिएरै काम लगाउँछ नेपाल मेडिसिटी अस्पताल
नर्भिकमा नर्सको सुरुवाती तलब ९ हजार ४ सय, पद भने सुब्बा सरह (नियुक्ति—पत्रसहित)